राष्ट्रिय सहमतिको नाममा कांग्रेस–एमालेको सहकार्य  नौटंकीः झलनाथ खनाल

राष्ट्रिय सहमतिको नाममा कांग्रेस–एमालेको सहकार्य  नौटंकीः  झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले राष्ट्रिय सहमतिको सरकारका नाममा कांग्रेस-एमालेले फजुलको कुरा गरेको टिप्पणी गरेका छन् ।

आइतबार केन्द्रीय कमिटीकव बैठकपछि पार्टी कार्यालय आलोकनगरमा सञ्चारकर्मीसँग खनालले राष्ट्रिय सहमतिको सरकार भन्ने नितान्त फजुल कुरा बाहेक केही नभएको बताए । कांग्रेस-एमाले मिलेर सरकार बनाउने र केही आफूलाई सुरक्षित गर्नुपर्छ भन्ने पार्टीहरूले साथ दिन सक्ने उनको भनाइ छ ।

खनालले संसदीय व्यवस्थामा सामान्यतया बहुमत पुग्नेको सरकार बन्ने गरेपनि कुनै पनि देशका मुख्य मुख्य दुई ठूला दल मिलेर सरकार बनाउने कुरा संसदीय व्यवस्थामा नौटंकीजस्तै रहेको टिप्पणी गरे । नयाँ गठबन्धनमा सहभागी हुने कुनै गुञ्जायस नरहेको उनको प्रष्टोक्ति थियो । ठूला पार्टीका नेतामा रहेको असक्षमता र अयोग्यताका कारण देश अस्थिरताबाट गुज्रिरहेको उनले दाबी गरे ।

‘कुबेलाको सनही बजाउँदैनन् । जतिबेला बिहेबारी हुन्छ त्यतिबेला सनही बजाउने हो । जतिबेला लास लिएर हिँड्ने बेला हुन्छ त्योबेला अरु नै कुरा बजाउने हो’, नयाँ गठबन्धनलाई समर्थनको सम्भावनाबारे सोधिएको प्रश्नमा खनालले भने ।

नयाँ सरकारको आधार स्पष्ट नभइसकेको अवस्थामा संविधान संशोधनको कुरालाई नियालिरहेको भन्दै एजेण्डाका आधारमा जोडदार प्रतिक्रिया आउने उनले बताए ।