पहिरोले जताततै सडक बन्द, सडकमै रोकिए यात्रु

पहिरोले जताततै सडक बन्द, सडकमै रोकिए यात्रु

काठमाडौं। अविरल वर्षाका कारण देशका विभिन्न ठाउँका सडक अवरुद्व भएका छन् । सडकमा पहिरो गएपछि केही ठाउँका सडक पूर्ण अवरुद्व भएका छन् भने काँही एकतर्फी सञ्चालनमा रहेका छन् ।

अविरल वर्षाका कारण कालीगण्डकी कोरिडोर अवरुद्ध भएको छ । दुई दिनदेखिको निरन्तर वर्षाका कारण उक्त करिडोरको बागलुङ र पर्वत खण्डमा सडक अवरुद्ध भएको हो ।

बागलुङको जैमिनी नगरपालिका–बिनामारे क्षेत्रमा पहिरो झर्दा कोरिडोर अवरुद्ध भएको छ । कोरिडोर अवरुद्ध हुँदा जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारेलगायतका स्थानदेखि जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारीसाधन बाटोमै ठप्प रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए । भारी वर्षाका कारण सडक खुलाउने कार्यमा बाधा पुगेको छ ।

.“लगातार वर्षा भइरहेकाले पहिरो झर्ने क्रम रोकिएको छैन”, प्रहरी नायव उपरीक्षक यादवले भने। वर्षाका कारण अवरुद्ध मध्यपहाडी लोक मार्गको बडिगाड गाउँपालिका–२ डुडियामा भने यातायात सञ्चालनमा आएको छ ।

हेटौंडा-काठमाडौं जोड्ने दुईवटा मार्गहरु पहिरोका कारण अवरुद्ध भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर दिएको जानकारी अनुसार गएरातीदेखि आएको अविरल बर्षाको कारण दक्षिणकाली सडकखण्ड र सिस्नेरी सडकखण्डमा यातायात अवरुद्ध भएको हो ।

दक्षिणकाली सडकखण्ड अन्तर्गत मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर २ छेपारेमा बर्षाको कारण सडक माथिबाट पहिरो आई बाटो पुर्णरुपमा अवरुद्ध भएको छ । यस्तै सिस्नेरी सडकखण्डको विभिन्न स्थानमा पहिरो खस्दा बाटो अवरुद्ध छ । अहिले पनि अबिरल बर्षा भइरहेका कारण तत्काल बाटो खुलाउन नसकिने प्रहरीले जनाएको छ ।

त्यस्तै, पहिरोले दैलेख र कालिकोटको सीमानामा पर्ने गगने खोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो। दैलेख–कालिकोटखण्ड अवरुद्ध हुँदा कर्णाली राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधन रोकिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

दहीखोला र कालिखोलाको बीचको गगने खोला दैलेख खण्डकै पादुका लगाएका ठाउँमा सडक अवरुद्ध भएको कालिकोटका प्रहरी प्रमुख डीएसपी अर्जुन केसीले बताए।

सल्यानको कपुरकोट नजिकै पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध भएको छ। त्यस्तै दाङको तुलसीपुर – घोराही सडक खण्डको हापुर खोलामा आएको बाढीका कारण साना सवारी साधन संचालनमा रोक लगाइएको छ। दाङको भालुवाङ –प्यूठान सडक खण्ड अन्तरगत माण्डबी गाउँपालिकाको गर्जेनीमा झरेको पहिरोका कारण सडक अवरुद्ध भएको छ।

पहिरोका कारण हेटौँडा काठमाडौँ जोड्ने मातातीर्थ, चखेल देउराली सडक र कान्ति लोकपथ बन्द भएको हो । पहिरोका कारण वीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । गएरातिदेखिको पानीका कारण पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।