सरकार जोगाउने कसरतमा प्रचण्ड

सरकार जोगाउने कसरतमा प्रचण्ड


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार जोगाउने कसरतमा रहेका छन्। नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कांग्रेसले नयाँ सरकार बनाउने सहमति गरेपछि प्रधानमन्त्री प्रचण्ड सरकार कसरी जोगाउन सकिन्छ भन्ने ’boutमा पार्टी नेताहरूसँग छलफल गरिरहेका छन्।

सत्तासाझेदार एमालेले समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाइसकेको छ। एमालेले समर्थन फिर्ता लिएपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ। तर, प्रधानमन्त्री प्रचण्ड अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले संसद्मा विश्वासको मत लिने निर्णय गरिसकेको छ। सोही कारण प्रचण्डले अल्पमतमा परे पनि राजीनामा दिएका छैनन्।

एमाले र कांग्रेसबीच नयाँ गठबन्धन बनेपछि सो गठबन्धनलाई विभिन्न दलले साथ दिने निर्णय गरेका छन् । महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले एमाले र कांग्रेस गठबन्धनलाई साथ दिने निर्णय गरेका छन्।

उता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरूले बिहीबार नै राजीनामा दिने तयारीका साथ बालुवाटार प्रवेश गरे पनि प्रधानमन्त्री प्रचण्डले उनीहरूलाई रोकेका छन्। केही दिन पर्खिन र आफूलाई साथ दिन प्रधानमन्त्री प्रचण्डले आग्रह गरेपछि रास्वपाका मन्त्रीहरू राजीनामा खल्तीमै राखेर बालुवाटारबाट फर्किएका हुन्।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने र मन्त्रीहरूलाई पनि फिर्ता नबोलाउने निर्णय गरेको छ। एकीकृत समाजवादीका नवनिर्वाचित महासचिव घनश्याम भुसालले तत्काल प्रचण्ड नेतृत्वको सरकारबाट आफ्नो पार्टी नबाहिरिने स्पष्ट पारेका छन्। पार्टीको १०औं महाधिवेशनस्थल प्रज्ञा भवनमा पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा महासचिव भुसालले यस्तो बताएका हुन्।

उनले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने र प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मतसमेत दिने जानकारी दिए।

प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमालेले सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न-नगराउन ध्यानाकर्षण गराएको छ। एमालेले सरकार स्पष्टतः अल्पमतमा परेको भन्दै दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न-नगराउन प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएको हो।

महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने अवस्था नरहेको भन्दै दीर्घकालीन असर पर्ने काम नगर्न-नगराउन भनिएको छ। ‘संसद्का दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेस नयाँ सरकार गठनका लागि सहमत भएको अहिलेको परिस्थितिमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउने अवस्था नरहेको हुँदा अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने काम नगर्न–नगराउन नेकपा (एमाले) सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गर्दछ,’ एमाले महासचिव पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

यसैबीच, बिहीबार नयाँ सत्ता समीकरणका लागि एमाले र कांग्रेसबीचमा भएको सहमतिलाई अशोक राई नेतृत्वको जसपाले समर्थन गर्ने निर्णय गरेको छ। वर्तमान सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरूलाई बिहीबार नै राजीनामा दिन निर्देशन दिइएको पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले जनाएका छन्।

‘परिवर्तित राजनीतिक घटनाक्रमनुसार वर्तमान सरकार अल्पमतमा परिसकेकाले आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई राजीनामा गर्न लगाएर नयाँ परिस्थितिअनुरूप पार्टी अगाडि बढ्नेछ,’ महासचिव राईले भने। जसपाबाट वर्तमान सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री रहेका छन्।

एमालेले समर्थन फिर्ता लिने निर्णय गरेसँगै प्रचण्ड सरकार अल्पमतमा परेको छ । ७८ सिट रहेको एमालेले समर्थन फिर्ता लिएपछि अब प्रचण्ड सरकारको समर्थनमा ३२ सिटको नेकपा (माओवादी केन्द्र), २१ सिटको रास्वपा, १० सिटको नेकपा (एकीकृत समाजवादी) र ६ सिट रहेको जनमत पार्टीको मात्र समर्थन बाँकी रहेको छ । ७ सिटको जसपा सरकारबाट बाहिरिसकेको छैन । अब प्रचण्डले आगामी १९ साउनभित्रमा संसद्बाट विश्वासको मत लिनुपर्ने हुन्छ वा राजीनामा दिनुपर्ने हुन्छ।