भ्रष्टाचारको ठूला फाइल यस्तो खुल्यो कि सरकार एक रात पनि टिक्न सकेनः गृहमन्त्री लामिछाने

भ्रष्टाचारको ठूला फाइल यस्तो खुल्यो कि सरकार एक रात पनि टिक्न सकेनः  गृहमन्त्री लामिछाने

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारको फाइल खुलेपछि सत्ता समीकरण फेरिएको बताएका छन्। सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले ठूला फाइल पल्टाएपछि एक रात पनि समीकरण टिक्न नदिएको दाबी गरे।

‘सबैलाई थाहै छ। तपाइँहरुनै भन्नुहुन्थ्यो फाइल खोल्नुपर्छ। अब फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने। यो बेचैनीको अर्को अर्थ के होला त ? एकाएक संविधान जोगाउनुपर्ने चिन्ता आयो। यो संविधान जोगाउनुपर्ने, कल्लाई जोगाउन खोजेको ?,’ उनले प्रश्न गर्दै भने, ‘सबैले बुझेकै कुरा हो। ठिक छ यसमा मेरो केही भन्नु छैन। संवैधानिक प्रक्रिया सुरु होला त्यसपछि अरु गर्ने कुराहरु छँदैछ। अहिले यति नै भन्न चाहान्छु।’

साथै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि कांग्रेस एमालेको बेचैनी बढेको र नयाँ गठबन्धन बनाएको टिप्पणी गरेका छन्। उनले केही फाइल खोल्नासाथ एक रातमै सरकार ढलेको बताए।

कांग्रेस एमालेका नेताले संविधान जोगाउन र संशोधन आवश्यक रहेकाले नयाँ गठबन्धन बनाउनु परेको बताइरहँदा लामिछानेले संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको भनेर सबैले बुझेको टिप्पणी गरे ।

बेचेन झा पक्राउ परेकाले गठबन्धन फेरबदल भएको हो भनेर सञ्चारकर्मीले गरेको प्रश्नमा लामिछानेले बेचैनीको अरू के अर्थ होला र भन्दै प्रतिप्रश्न गरे। नक्कली भुटानी शरणार्थी प्रकरणमा गत शुक्रबार बेचन झा पक्राउ परेका थिए । सोही प्रकरणमा शुक्रबारै काठमाडौंको बौद्धबाट एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पनि पक्राउ परेका थिए ।