काठमाडौं । होटल संचालिकाको कुटपिटबाट मोरङको विराटनगरमा एक पुरुषको मृत्यु भएको छ ।
विराटनगर– १९ बैजनाथपुरमा होटल सञ्चालन गर्दै आएकी ३५ वर्षीया तालीदेवी ऋषिदेवको कुपिटबाट ग्राहक ५० वर्षिय वीरबल गोसाईंको मृत्यु भएको हो । गोसाईँ नियमित सो होटलमा मदिरा सेवन गर्न जाने गरेका थिए । प्रहरीका अनुसार शनिबार दिउँसो पनि गोसाइँ होटलमा गएका थिए ।
दिँउसो कुटपिट भएपछि उनी साँझ फेरि होटलमा जाँदा साँझ पनि कुटपिट भएको मृतकका परिवारले बताएका छन् । होटल संचालिकाले भने आफूले कुटपिट नगरेको दाबी गरेकी छन् । सधैँ मदिरा खान आउँदा दुःख दिने गरेकाले त्यो दिन पनि आफुले ‘यहाँबाट गइहाल’ भनेर धकेल्दा गोसाइँ लडेको महिलाको दाबी छ । तालीदेवीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।