एकीकृत समाजवादीको जम्बो केन्द्रीय कमिटी बन्दै

एकीकृत समाजवादीको जम्बो केन्द्रीय कमिटी बन्दै

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले नेताहरूलाई भाग पु¥याउन केन्द्रीय कमिटी जम्बो बनाउने भएको छ।

विधानमा १९ पदाधिकारीसहित १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी हुने व्यवस्था छ । तर, पार्टीले २१ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ।

१९ पदाधिकारीसहित १ सय ९९ केन्द्रीय कमिटीबाट अब २१ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने सचिवालयको निर्णय

काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको सचिवालय बैठकले केन्द्रीय सदस्यको संख्या बढाउने निर्णय गरेको हो । सचिवालयले गरेको निर्णय महाधिवेशनबाट पारित भएपछि विधान संशोधन गरेर लागू हुनेछ ।

एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले सचिवालय बैठकले आसन्न महाधिवेशनबाट २१ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने निर्णय भएको बताए । पार्टीको सम्मानित पद यथावत राख्ने निर्णय भएको उनले बताए ।

त्यस्तै, वरिष्ठ उपाध्यक्ष पद सिर्जना गर्ने र केन्द्रीय उपाध्यक्षमा एक महिला अनिवार्य गर्ने निर्णय भएको उनले बताए । उनका अनुसार वरिष्ठ नेता आवश्यकतानुसार राखिनेछ भने २१ जना पदाधिकारी समावेशिताका आधारमा चुनिनेछन् । कुल प्रतिनिधिको ५ प्रतिशत प्रतिनिधि मनोनीत गर्ने काम नगरिने निर्णय बैठकले गरेको छ ।

त्यस्तै, महाधिवेशनबाट विशिष्ट कम्युनिस्ट नेताहरूलाई सम्मान गरिने भएको छ । उनीहरूको नाम भने सार्वजनिक गरिएको छैन । यस विषयमा भोलि शनिबार बृहत् पत्रकार सम्मेलन आयोजना गर्ने प्रवक्ता खतिवडाले बताए । उनले सहमतिकै आधारमा केन्द्रीय कमिटी चुन्ने प्रयास भइरहेको बताए ।

‘सबै नेताले सहमतिकै आधारमा जानुपर्छ भनिरहनुभएको छ, हाम्रो जोड पनि सहमतिमै छ, सहमति हुन सकेन भने निर्वाचनबाट भए पनि केन्द्रीय कमिटी चयन हुन्छ,’ प्रवक्ता खतिवडाले भने।

महाधिवेशनबाट अध्यक्षका लागि पार्टी अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालले प्रतिस्पर्धा गर्ने तयारी रहेको छ । त्यसका लागि दुवै नेताले आफ्नो आन्तरिक छलफललाई तीव्रता दिएका छन् ।

बिहीबार नै काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा भुसालले युवा भेला गरेका छन् । भेलालाई सम्बोधन गर्दै भुसालले महाधिवेशनबाट पुस्तान्तरण हुनुपर्ने भन्दै जोडतोडका साथ लाग्नुपर्ने बताए । भुसाल निकटका युवा भेलाले नेतृत्वमा युवालाई ल्याउनुपर्ने निष्कर्ष निकालेको छ ।

१६ देखि २० असारसम्म काठमाडौंमा महाधिवेशन हुँदै छ । त्यसका लागि प्रतिनिधि छनोटसँगै अन्य व्यवस्थापनका कार्य तीव्र रूपमा अगाडि बढेको एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य श्रीप्रसाद साहले जनाएका छन् ।

विधानबाट ७० वर्षे उमेरको हदबन्दी हटेको छ । युवालाई २० प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ । महिला, मधेसी, दलित, जनजातिलगायतका क्षेत्रमा समेत आरक्षणको व्यवस्था गरिएको छ । महाधिवेशनमा १ हजार ८ सय ४९ जना प्रतिनिधि सहभागी हुनेछन् ।

पार्टीको वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रम पारित गर्ने महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्नेछ । संघीय संसद्को प्रतिनिधिसभामा १० र राष्ट्रिय सभामा ८ सदस्य रहेको पार्टीले सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गरिरहेको छ ।

राजधानी दैनिकबाट