अध्यक्षमा कसलाई समर्थन ?

अध्यक्षमा कसलाई समर्थन ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को १०औं महाधिवेशनको मिति नजिकिँदै जाँदा विभिन्न पदका लागि नेताहरूको दौडधुपले तीव्रता पाएको छ । विभिन्न पदका आकांक्षीहरू आफ्नो पक्षमा समर्थन जुटाउने काममा लागेका छन् ।

एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र महासचिव घनश्याम भुसालका बीचमा बुधबार भेटघाट भएको छ । खनाल निवास डल्लुमा भएको भेटघाटमा अगामी नेतृत्वका विषयमा छलफल भयो । खनाल र भुसाल दुवै नेता अगामी महाधिवेशनबाट अध्यक्षमा आउन खोजेका छन् ।

छलफलमा सर्वसम्मतिमा अध्यक्ष चयन भए खनाललाई र सर्वसम्मत नभई निर्वाचनको प्रक्रियाबाट अध्यक्ष चयन गर्ने अवस्थामा खनालले भुसाललाई समर्थन गर्ने बताइएको छ । खनालका स्वकीय सचिव कृष्ण भट्टराईले महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष चयनका लागि खनाललाई अगाडि सार्ने सहमति भएको बताए ।

तर, खनाल अध्यक्षमा सर्वसम्मत नभएको अवस्थामा फेरि बसेर टुंगो लगाउने उनले जनाएका छन् । स्रोतका अनुसार खनाल अध्यक्षको उम्मेदवार नबन्ने बताइएको छ । यसअघि खनालले सार्वजनिक रूपमा अध्यक्षमा उम्मेदवारी दिने बताउँदै आएका थिए ।

अगामी महाधिवेशनबाट अध्यक्षमा माधवकुमार नेपाल फेरि दोहिरिन खोजेका छन् । एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री नेपालले सर्वसम्मतिमै आफू पुनः अध्यक्ष बन्न खोजेका छन् । तर, पार्टीमा पुस्तान्तरणको कुरा उठाएर उनीमाथि दबाब सिर्जना गर्न खोजिएको छ । खनालले भुसाललाई समर्थन गर्ने भएपछि सर्वसम्मत नभई निर्वाचन प्रक्रियाबाटै नेतृत्व चयन गर्ने अवस्था आउनसक्ने सम्भावना बढी रहेको बताइएको छ ।

एमालेबाट साढे २ वर्षअघि विभाजन भई गठन भएको एकीकृत समाजवादीको अगामी नेतृत्व चयन पेचिलो बन्दै जाने नेताहरू बताउँछन् । यस्तै, अध्यक्षपछिको कार्यकारी भूमिका रहने महासचिव पदका लागिसमेत नेताहरूको दौडधुप तीव्र रूपमा भइरहेको छ । अध्यक्षजस्तै महासचिवका आकांक्षी पनि धेरै भएकाले सहमति जुट्ने सम्भावना कम रहेको छ ।

महासचिवका लागि जगन्नाथ खतिवडा, डा. गंगालाल तुलाधर, प्रकाश ज्वाला, डा. विजय पौडेल आकांक्षी रहेका छन् । यी चारै जना नेता अहिले पार्टीमा उपमहासचिवको जिम्मेवारीमा रहेका छन् । यस्तै राजेन्द्र राई, रामकुमारी झाँक्रीसमेत महासचिवका आकांक्षी छन् । दुवै जना अहिले पार्टीमा सचिवको जिम्मेवारीमा रहेका छन् । राई कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हुन् भने झाँक्री संघीय सरकारको पूर्वमन्त्री हुन् ।

१६ देखि २० असारसम्म काठमाडौंमा महाधिवेशन हुँदै छ । त्यसका लागि प्रतिनिधि छनौटसँगै अन्य व्यवस्थापनका कार्य तीव्र रूपमा अगाडि बढेको छ । १९ पदाधिकारीसहित १ सय ९९ सदस्यीय केन्द्रीय समिति महाधिवेशनबाट चयन हुने पोलिटब्युरो सदस्य दिलु पन्तले जनाएकी छन् ।

विधानबाट ७० वर्षे उमेरको हदबन्दी हटेको छ । युवालाई २० प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ । महिला, मधेसी, दलित, जनजातिलगायतका क्षेत्रमा समेत आरक्षणको व्यवस्था गरिएको छ । महाधिवेशनमा १ हजार ८ सय ४९ जना प्रतिनिधि सहभागी हुनेछन् । कुल प्रतिनिधिको ५ प्रतिशत अर्थात् ९५ जना मनोनीत गर्न बाँकी रहेको छ ।

पार्टीको वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रम पारित गर्ने महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्नेछ । संघीय संसद्को प्रतिनिधिसभामा १० र राष्ट्रिय सभामा ८ सदस्य रहेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गरिरहेको छ ।

राजधानी दैनिकबाट