उखरमाउलो गर्मीका कारण बाँकेमा दुई जनाको मृत्यु

उखरमाउलो गर्मीका कारण बाँकेमा दुई जनाको मृत्यु

बाँके। पछिल्लो समयमा बाँके , बर्दिया लगायतका जिल्लामा तातो हावा र अत्याधिक गर्मीका कारण लु चलेर जनजीवन प्रभावित हुँदा २ जनाको मृत्यु भएको छ।

अत्याधिक गर्मीकै कारण बाँकेमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा खजुरा गाउँपालिकाका सुन व्यवसायी टोपेन्द्र सुनार र नेपालगन्जस्थित नीलसागर आश्रममा बस्दै आएका १०४ वर्षका कैलाश गिरीको अत्याधिक गर्मीका कारण मृत्यु भएको बताइएको छ।

खजुरा बजारमा मेट्रो ज्वेलर्स सञ्चालन गर्दै आएका सुनार मोटरसाइकलमा घरबाट पसलतर्फ आइरहेका बेला गर्मीले चक्कर लागेपछि मोटरसाइकल रोकेर सडक किनारमा बस्दा बेहोस भएका थिए।

उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए। नीलसागर आश्रम नेपालगन्जमा २१६ जना वृद्धवृद्धा र ७५ जना बालबालिका गरेर २९६ जनाले आश्रममा आश्रय लिइरहेका छन्।

केही दिनयता बाँके, बर्दिया, लगायतका आसपासका जिल्लामा अत्याधिक गर्मी बढेको छ। बाँकेको तापमान ४७ पुग्दा बर्दियामा पनि यस्तै अवस्था रहेको छ।

अत्यधिक गर्मी बढेकै कारण यहाँको जनजीवन अस्तव्यस्त बनेको छ भने सर्वसाधारणले दिनरात कटाउन नै धौधौ भएको छ।

लामो समय देखि पानि नपरेका कारण बढदौ गर्मीले मानिसहरु बेहोस हुने, झाडा पखाला र वान्ता हुने, टाउको दुख्ने तथा छाला चिलाउनेदेखि ज्वरो आउने क्रम बढ्दै गएको चिकित्सकले नै बताएका छन्। अहिले अस्पतालहरुमा विरामीको पनि चाप बढदै गएको छ । चिकित्सका अनुसार यस्तो मौसममा प्रसस्त पानि पिउने , दिउसो घर बाहिर नहिडने हिडनै परे छाताको प्रयोग गर्न आग्रह गरेका छन्।