ऐतिहासिक जित निकाल्दै अफगानिस्तान विश्वकपको सेमिफाइनलमा

ऐतिहासिक जित निकाल्दै अफगानिस्तान विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । सुपर ८ को अन्तिम खेलमा बंगलादेशलाई डीएलएस मेथडमा ८ रनले हराउँदै अफगानिस्तान आईसीसी टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

अफगानिस्तानको जितले अष्ट्रेलिया विश्वकपको सुपर ८ बाटै बाहिरिएको छ। अष्ट्रेलिया २ अंकमा तालिकाको तेस्रो स्थानमा छ। सुपर ८ मा बंगलादेश भने जित विहिन रह्यो। अफगानिस्तानले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बंगालदेशले १७.५ ओभरमा १ सय ५ रन बनाउँदा अलआउट भयो।

वर्षाका कारण बीचमै खेल रोकिएपछि १ ओभर घटाइएको थियो। बंगलादेशका ओपनर लिटोन दास ५४ रनमा नटआउट रहे। उनले ४९ बलमा ५ चौका र १ छक्का हाने। तोहिड ह्दोयले १४ र सौम्य सरकारले १० रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

अफगानिस्तानका रासिद खान र नविन उल हकले समान ४ विकेट लिए। फजहक फारुकी र गुलाबीदिन नैवले समान १ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय १५ रनको योगफल तयार पारेको थियो। ओपनर रहमुल्लाह गुरवाजले बनाएको ४३ रन नै अफगानिस्तानका लागि सर्वाधिक रह्यो। उनले ५५ बलमा ३ चौका र १ छक्का हाने। 

अर्का ओपनर इब्राहिम जड्रानले २९ बलमा १ चौका सहयोगमा १८ रन बनाए। कप्तान रासिद खान १९ र करिम जनत ७ रनमा नटआउट रहे। अज्मतुल्लाह ओमरजाइले १० रन थपे। बंगलादेशका लागि रिसद होसैनले ३ विकेट लिए। मुस्तफिजुर रहमान र ताक्सिन अहमदले समान १ विकेट लिए।