वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका टी–२० विश्वकपको सेमिफाइनलमा

वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका टी–२० विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । आयोजक वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका आईसीसी टी–२० विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई 'डक वर्थ लुईस'का आधारमा तीन विकेटले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई एक सय ३६ रनको लक्ष्य दिएको थियो ।

वर्षा कारण छोट्टाइएको खेलमा एक सय २३ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले १६ ओभर एक बलमा सात विकेट गुमाएर भेटायो । उसका लागि ट्रिस्टन स्टब्सले २९ र मार्को जेन्सेन अविजित २१ रन बनाए । वेस्ट इन्डिजका रोस्टन चेसले तीन विकेट लिए । आन्द्रे रसेल र अल्जारी जोसेपले समान दुई विकेट लिए ।

यसअघि नर्थ साउन्डमा टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ३५ रन बनायो । उसका रोस्टन चेसले ५२ र काइल मेयर्सले ३५ रन बनाए । साउद अफ्रिकाका तबरेज साम्सीले तीन विकेट लिए । यस्तै मार्को जेन्सेन, एडेन मार्कराम, केशव महाराज र कागिसो रबाडाले समान एक विकेट लिए ।

यो जितसँगै सुपर आठअन्तर्गतको सूमह दुईको सबै खेल सकिएको छ । यस समूहबाट दक्षिण अफ्रिका र इङ्ल्यान्ड आईसीसी टी–२० विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गरेका छन् । टी–२० विश्वकपमा आज बेलुका नेपाली समय अनुसार सवा ८ बजे भारत र अस्ट्रेलिया खेल्दैछन् ।