धमाधम हिट फिल्म दिइरहेका सुपरस्टार अचानक जेल पुगेपछि

धमाधम हिट फिल्म दिइरहेका सुपरस्टार अचानक जेल पुगेपछि

काठमाडाैं। दक्षिण भारतीय राज्य कर्नाटकस्थित कन्नाडा भाषाको फिल्म उद्योगका सुपरस्टार दर्शन थुगुदीप गत १० दिनदेखि हिरासतमा छन्। उनीमाथि त्यस्तो आरोप छ, जुन फिल्मको कथाभन्दा कम छैन।


उनीमाथि आफ्नै एक ३३ वर्षीय फ्यान रेणुकास्वामीको हत्या गरेको आरोप छ। एउटा नालामा रेणुकास्वामीको शव फेला परेपछि दर्शनसहित १७ जना पक्राउ परेका छन्।


केही दिनअघि बेंगलुरु प्रहरीका कमिस्नर बी दयानन्दले रेनुकास्वामीको बर्बर र क्रुर तवरले हत्या गरिएको बताए। उनको हत्या ‘भयानक तरिकाले गरिएको जघन्य अपराध’ भएको उनको भनाइ छ।

प्रहरीका अनुसार ४७ वर्षीय अभिनेता दर्शन रेणुकास्वामीसँग क्रुद्ध थिए। किनकि फार्मेसी कम्पनीमा काम गर्ने रेणुकास्वामीले पवित्रा गौडा नामक अभिनेत्रीलाई अश्लील सन्देश पठाएका थिए। भारतीय सञ्चारमाध्यमले पवित्रालाई दर्शनको प्रेमिका भन्ने गरेका छन्। उनी पनि पक्राउ परेकी छन्।

पक्राउ परेकाहरूमाथि हत्या, अपहरण, प्रमाण नष्ट र आपराधिक षड्यन्त्रको आरोप छ।


दर्शन जेलमा छन्। उनले यो घटनाबारे मुख खोलेका छैनन्। तर, उनका वकिल रंगनाथ रेड्डीले आफूले भेट्दा दर्शनले आफूविरुद्ध लागेका सबै आरोपको खण्डन गरेको बताएका छन्।

‘यी सबै आरोप मात्र हुन्,’ वकिल रेड्डी भन्छन्, ‘प्रहरीसँग प्रत्यक्ष प्रमाण केही पनि छैन। परिस्थितिजन्य प्रमाण मात्र छ।

रेड्डीले पवित्राले दर्शनसँग विवाह गरेको कुरा पनि झुट भएको दाबी गरे।


बक्स अफिसको हिसाबले कन्नाडा फिल्म उद्योगको सबैभन्दा भरपर्दो अभिनेताका रूपमा पनि उनी परिचित छन्। उनले करिब ६० फिल्ममा काम गरेका छन्। तीमध्ये थुप्रै हिट भएका छन्।

‘कन्नाडा फिल्म उद्योगका उनी सबैभन्दा ठूला स्टार हुन्। उनको फ्यान फलोइङ विशाल छ। उनको तस्बिर अटोरिक्सामा टाँसिन्छन्। उनको फिल्म रिलिज हुँदा उनको होर्डिङ बोर्डमा फ्यानहरूले दूध खन्याउँछन्,’ फिल्म समीक्षक एस शिवकुमार भन्छन्।

कन्नाडा फिल्म निर्माता योगिश द्वारकिश भन्छन्, दर्शन त्यस्ता अभिनेता हुन्, जसले असाधारण ओपनिङ ग्यारेन्टी गर्छन्। उनको फिल्म ४ सय थिएटरका ६–७ सय स्क्रिनमा रिलिज हुन्छन्। उनका प्रशंसक उनको पूजा गर्छन्। हरेक पटक हिट दिने गर्छन्। उनको पछिल्लो फिल्म कातिराले १ अर्ब रूपैयाँभन्दा ज्यादा कमाएको थियो।’

उनी एउटा फिल्म खेलेबापत २० देखि २५ करोडसम्म लिन्छन्। स्थानीय फिल्म उद्योगमा यो नसुनिएको पैसा हो। जहाँका फिल्म प्रायः साना बजेटका हुन्छन्। अधिकांश कन्नाडा फिल्म छिमेकी राज्यहरूमा समेत रिलिज हुन पाउँदैनन्।

त्यसैले जुन ११ मा नाटकीय रूपमा उनको गिरफ्तारीपछि यो विषय समाचारमा छाइरहेको छ। आफ्नो फिल्म डेभिलको सुटिङका लागि मैसुरको एक होटलमा बसिरहेका बेला प्रहरीले उनलाई पक्रेको थियो।

प्रहरीले औपचारिक रूपमा उनी र अन्य आरोपितविरुद्ध कुनै प्रमाण सार्वजनिक गरेको छैन। तर, स्थानीय सञ्चारमाध्यमले प्रहरी स्रोतलाई उधृत गर्दै गम्भीर आरोप र भयानक विवरणहरू सार्वजनिक गरेका छन्।

टीभी च्यानलहरूले धमिलो सीसीटीभी फुटेज देखाउँदै त्यो रेणुकास्वामीको अपहरण भएको बताएका छन्। रेणुकास्वामीको पोस्टमार्टम रिपोर्टको विवरणहरूमा छलफल चलाइएको छ।

हत्याको रात दर्शनले लगाएको जुत्ता उनकी पत्नी विजयालक्ष्मीको घरमा भेटिएको विषयमा खबरमा छापिएपछि विजयालक्ष्मीले प्रेसविरुद्ध निरोधक आदेश लिएकी छन्।

त्यसैगरी, दर्शनको निजी जिन्दगीका विषयमा व्यापक चर्चा सुरु भएको छ। पत्नी विजयालक्ष्मी र प्रेमिका भनिएकी पवित्रा गौडासँगको उनको सम्बन्धलाई लिएर अनेक अनुमान गरिएका छन्। विगतमा दर्शनका व्यवहारका विषयमा पनि सामाजिक सञ्जालमा बहस भएको छ।

गत जनवरीमा पवित्रा गौडाले दर्शनसँगको सम्बन्धको १० वर्ष पुगेको भन्दै एउटा पोस्ट गरेकी थिइन्। उनीहरूको गिरफ्तारीपछि सो पोस्ट भाइरल भएको छ।

दर्शन अभिनेता श्रीनिवास थुगुदीपका छोरा हुन्। जो १९७० को दशकमा खलनायकको भूमिकामा निकै लोकप्रिय र सफल भएका थिए। ३० वर्षदेखि दर्शनलाई चिन्ने निर्माता योगिशका अनुसार बुवाको मृत्युपछि दर्शनले जीवनमा निकै ठूला कठिनाइ बेहोर्नुपरेको थियो।

पहिलो पटक उनले सिनेमाटोग्राफरका लागि लाइटिङ मिलाउने काम गरेका थिए। जसको दैनिक १५० रूपैयाँ ज्याला पाउँथे।

तर, हट्टाकट्टा ज्यान र प्रभावशाली व्यक्तित्व भएकालाई क्यामराको अगाडि उभिन सुझाव आयो। त्यसपछि उनी फिल्म र टीभीका लागि ससाना भूमिकामा देखिन थाले। २००२ मा पनि ठूलो भूमिकामा मौका पाए।

‘म्याजेस्टिक नामकको फिल्मबाट उनी चर्चामा आए। जहाँ उनी एन्टीहिरोको भूमिकामा थिए। सो फिल्मले उनलाई प्रसिद्धि दिलायो र उनी स्टार बने,’ शिवकुमार भन्छन्।

त्यही फिल्मबाट उनले ठूलो संख्यामा फ्यान पनि कमाएको कन्नाडा सिनेमबारे पुस्तक लेखेका समीक्षक मुरलीधर खजाने बताउँछन्।

‘समाजका सीमान्तकृत समुदायका मानिसका लागि उनी नायक बने। उनीहरूले दर्शनमा आफूलाई देखे,’ उनी भन्छन्।

सुरुवाती दिनमा उनी ‘विनम्र, मेहनती र अनुशासित’ भएको योगिश बताउँछन्। उनले २००६ ताका दर्शनसँग काम गरेका थिए।

‘त्यतिखेर मैले उनी जनताको प्रिय बन्छन् भन्ने अनुमान गरेको थिएँ, जो उनी भए पनि,’ योगिश भन्छन्।

उनका फिल्ममा प्रायः भूमिका दोहोरिरहने र उनको अभिनय पनि कमजोर भए पनि एक्सन हिरोका रूपमा उनको करिअर स्थापित भएको शिवकुमारको भनाइ छ।

‘उनका थुप्रै फिल्ममा उनको चरित्र नपत्याउँदो देखिन्छ, जसको पछाडि एउटा कथा हुन्छ। जसलाई कानुन आफ्नो हातमा लिने बहानाका रूपमा प्रयोग गरिन्छ,’ शिवकुमार भन्छन्।

एक दशकभन्दा लामो समय दर्शनले किच्चा सुदीप र पुनीत राजकुमारको साथ यो फिल्म उद्योगमा राज गरे।

निरन्तर हिट फिल्म दिइरहेपछि फ्यानहरूले उनलाई प्रेमपूर्वक ‘दी बोस’ र ‘च्यालेन्जिङ स्टार’ उपनाम दिए। किनकि ‘उनले सजिलै केही पाएनन्, उनका लागि सबैथोक चुनौती थियो,’ योगिश भन्छन्।

‘तर, उनले आफ्नो स्टारडम सम्हाल्न सकेनन्। सफल भएपछि कस्तो व्यवहार गर्ने, उनलाई थाहा भएन,’ खजाने भन्छन्।

पत्नी विजयालक्ष्मीले घरेलु हिंसाको आरोप लगाएपछि सन् २०११ मा दर्शन पक्राउ परे र उनले चार हप्ता जेलमा बिताए। आफूलाई पिटेको, पेस्तोल देखाएर धम्की दिएको र चुरोटको ठुटोले पोलिदिएको पत्नीले आरोप लगाएकी थिइन्।

‘उनलाई देखिनेगरी चोट लागेको थियो। तैपनि उद्योग र फ्यानहरूले दर्शनलाई समर्थन गरिरहे। उनी जेलमा रहेकै बेला रिलिज भएको सारथी फिल्म भयंकर हिट भयो,’ खजाने भन्छन्।

पत्नीले आरोप फिर्ता लिएपछि उनी जेलबाट छुटे। कतिपयको भनाइमा फिल्म उद्योगका हस्तीहरूले यो मेलमिलाप गराएका थिए।

‘जेलबाट छुटेपछि उनले राज्यभर भ्रमण गरे र फ्यानहरूसँग माफी मागे। ‘कृपया मलाई क्षमा दिनुस्, मैले गलत उदाहरण पेस गरेँ,’ उनले भने,’ योगिश सम्झिन्छन्।

खजानेका अनुसार त्यसपछि फिल्म उद्योगका केही व्यक्ति दर्शनसँग टाढिए। तर, बक्सअफिसमा उनको सफलतामा कुनै असर परेन।

अहिले पनि यत्रो जघन्य आरोप लाग्दा पनि उद्योग उनीबारे मौन छ। एकाध अभिनेताले मात्रै यो विषयमा मुख खोलेका छन्।

 

खजानेका अनुसार केही हदसम्म व्यापारिक हित हेरेर उनीहरू चुप लागेका हुन्।

‘उद्योग चुप छ किनकि उनीमाथि डेढ अर्ब रूपैयाँ लगानी भएको छ। उनी जेल गए भने उनका तीन फिल्म या त ढिलाइ हुन्छ या रद्द। त्यसैले उनीहरू उनलाई प्रतिबन्ध लगाउन सक्दैनन्,’ खजाने भन्छन्।

दर्शनको गिरफ्तारी उद्योगका लागि ठूलो घाटा भएको योगिश स्वीकार्छन्। दोषी ठहर नहुञ्जेल उनलाई प्रतिबन्ध लगाउन नहुने उनको भनाइ छ।

उनी भन्छन्, ‘मेरो एउटै आग्रह के छ भने पहिले मिडिया ट्रायल होइन, कानुनी सुनुवाइ हुन दिऊँ। म उनी निर्दोष हुन् भनिरहेको छैन। तर, दर्शनलाई भिलेनका रूपमा चित्रित गरिँदैछ। सुनुवाइ नै नभई उनलाई दोषी ठहर गरिँदैछ।’

बीबीसीबाट