पाँच प्रदेशमा मनसुनको प्रभाव, पछिल्लो २४ घण्टामा देशका यी स्थानमा भारी वर्षा

पाँच प्रदेशमा मनसुनको प्रभाव,  पछिल्लो २४ घण्टामा देशका यी स्थानमा भारी वर्षा

काठमाडौँ । मनसुन भित्रिएको आधा महिना बितिसक्दा पनि देशभर फैलिएको छैन। जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबारसम्म मनसुनको प्रभाव पाँच प्रदेशमा छ।

कोशी प्रदेशबाट भित्रिएको मनसुन कोशीसँगै मधेस, बागमती र गण्डकी प्रदेशको अधिकांश भूभाग र लुम्बिनकी पूर्वी भूभागसम्म फैलिएको छ। अन्य भूभागमा भने अझै पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको शनिबार महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ।

यसै क्रममा पछिल्लो २४ घण्टामा मुलुकका १६ स्थानमा भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले शनिबार  बिहान ११ बजे प्रकाशन गरेको विवरण उल्लेख गरिएको छ।  उक्त अवधिमा सबैभन्दा धेरै रुकुम पश्चिमको मुसिकोटमा ८९ मिलिमिटर वर्षा भएको छ। यसपछि क्रमशः दाङको घोराहीमा ७४.२, प्युठानको रजवारामा ६७, बागलुङको गलकोटमा ६६, गुल्मीको भार्सेमा ६४.८ तथा बाँकेको सिक्टामा ६४.२ मिलिमिटर वर्षा भएको छ। 

यसैगरी पर्वतको कार्कीनेता ६४.६, गुल्मीको तम्घासमा ६२.८, लमजुङको घरेढुंगा ५८.८, गोरखाको बारपाकमा ५७.४ तथा सिन्धुपाल्चोकको बाह्रबिसे ५३.८ मिलिमिटर वर्षा भएको छ। ‍ महाशाखाको विवरणअनुसार स्याङ्जाको स्याङ्जामा ५२.६, दाङको सुखबारेमा ५२.४, नवलपुरको दुम्कौलीमा ५२.४, म्याग्दीको दरबाङमा ५..२ र दाङको अम्बापुरमा ५१.२ मिलिमिटर वर्षा भएको छ।  

मौसमविद्का अनुसार २४ घण्टाभित्र ५० मिलिमिटरभन्दा माथि १०० मिलिमिटरदेखि मुनि वर्षा हुनुलाई भारी वर्षा भनिन्छ।