यी प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी, पहिरो तथा भू-क्षयको जोखिम

यी प्रदेशमा  भारी वर्षाको चेतावनी, बाढी, पहिरो तथा भू-क्षयको जोखिम

काठमाडौं। हाल देशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी र मधेश प्रदेशमा पूर्णतया बदली, बाग्मती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली  तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। कोशी, बागमती र कर्णाली प्रदेशका केही तथा गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका  केही  तथा मधेस प्रदेशलगायत बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी प्रदेशका  एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

त्यसैगरी आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान  तथा बाँकी भू-भागका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशका  एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।  

आगामी २४ घण्टामा कोशी, मधस, बागमती र गण्डकी प्रदेशका केही स्थान  तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाउँदै विभागले अहिले ६ः०० बजे जारी गरेको बुलेटिनमा कोशी प्रदेशका  एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको  बताएको छ ।

विभागले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयको जोखिम वा क्षतिबाट बच्न तथा भारी वर्षाबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।