चट्याङ घरमा पर्दा आगलागी, किशोरीको मृत्यु

चट्याङ घरमा पर्दा आगलागी, किशोरीको मृत्यु

विराटनगर । मोरङको रतुवामाई नगरपालिका४ झुर्कियामा चट्याङले लागेर मंगलबार बिहान एकजना किशोरीको मृत्यु भएको छ।  

अविरल वर्षासँगै परेको चट्याङले १६ वर्षीया विपना महतोको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार घरमै बसिरहेका बेला बिहान ७ः३० बजेतिर चट्याङले लागेर विपना गम्भीर घाइते भएकी थिइन्।

चट्याङले लागेर बेहोस भएकी उनलाई उपचारका लागि रंगेली अस्पताल पुर्याउनसाथ ८ः३० बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमै राखिएको छ। 

त्यस्तै, धनपालथान गाउँपालिका -७ कदमाहस्थित एउटा घरमा चट्याङ परेर आगलागी भएको छ। रामा केवरतको घरमा बिहान ४ः३० बजेतिर आगलागी भएको डीएसपी बस्नेतले बताए। 

उनका अनुसार चट्याङ पर्नासाथ सुरु भएको आगोले बाँसको टाटीले बारेको र टिनको छानो भएको १ तले घर पूर्णरूपमा जलेको छ। घरभित्र रहेका सामान पनि जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ।