फोटो पत्रकार लक्ष्मीप्रसाद ङाखुसीले जिते ५० हजार राशीको पुरस्कार

फोटो पत्रकार लक्ष्मीप्रसाद ङाखुसीले जिते ५० हजार राशीको पुरस्कार

काठमाडौं। अठोट नेपालको आयोजनामा प्रिजेन्टिङ नेपाल दोस्रो राष्ट्रिय पर्यटन सम्मेलन तथा फोटोग्राफी प्रतियोगिता सम्पन्न भएको छ।

काठमाडौंको भृकुटीमण्डपस्थित पर्यटन बोर्डको सभाहलमा सम्पन्न भएको कार्यक्रममा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। नेपालको पर्यटन प्रवर्द्धनका लागि विगतका वर्षमा पनि यस प्रकारको कार्यक्रम गरेको यो संस्थाले यो पटक दोस्रो संस्करणका रूपमा सम्पन्न गरेको छ।

यो पटक पहिलो दिन नेपालको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि तथा डिजिटल प्रविधिबाट नेपालको पर्यटनलाई कसरी प्रवर्द्धन गर्ने भन्ने विषयमा प्यानल डिस्कसन गरेको थियो भने दोस्रो दिन फोटो प्रतियोगिता सम्पन्न गरेको थियो।

फोटोग्राफी अन्तर्गत फेस्टिबल-कल्चर, नेचर/इन्भारोमेन्ट, पिपुल/लाइफस्टाइल र वाइल्ड लाइफ/वर्ड गरी चार विधामा प्रतिस्पर्धा गएको थियो। प्रत्येक विधाका विजेतालाई नगद ५० हजार पुरस्कार राशी सहित प्रमाणपत्र पनि वितरण गरेको थियो। वाइल्ड लाइफ/वर्ड क्याटागोरीमा वरिष्ठ फोटो पत्रकार लक्ष्मीप्रसाद ङाखुसीले ५० हजार राशीको पुरस्कार जितेका थिए।

उक्त कार्यक्रममा पर्यटन मन्त्री हितबहादुर तामाङले  नेपालको पर्यटन प्रवर्द्धन गर्न डिजिटलाइजेशन जरूरी रहेको र फोटो तथा भिडियोको मुख्य भूमिका रहेको बताए । साथै यसलाई प्रवर्द्धनका लागि मन्त्रालयको स्तरबाट गर्नुपर्ने सहयोग र भूमिकामा कुनै कसर नराख्ने पनि मन्त्री तामाङले बताए।

यसै गरी नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हास्मीले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ गर्नमा पर्यटन तथा संस्कृतिको महत्वपूर्ण भूमिका हुने तथा यस किसिमको कार्यक्रमले अझ बढी भूमिका खेल्ने बताए। साथै यस कार्यक्रममा सहभागी हुन पाउँदा आफूलाई निकै खुसी लागेको बताए।

फोटो प्रतियोगितामा देशभरिका करिब ४०० फोटोग्राफरहरुका १५०० फोटोहरु प्रतियोगितामा सामेल गरिएका थिए भने यो फोटोहरुबाट नै सात प्रदेशका फोटोहरु प्रदर्शनीमा राखिएको आयोजक संस्थाका अध्यक्ष देवेन्द्र शाही ठकुरीले बताए ।

उक्त कार्यक्रममा पर्यटन मन्त्री हितबहादुर तामाङ, नेपालका लागि पाकिस्तानका राजदूत महामहिम अबरार एच हास्मी, लुम्बिनी विकास कोष सद्भावना दूत तथा एभरेष्ट म्याराथुनका परिकल्पनाकार बिक्रम पाँडे काजी, नेपाल टुरिजम बोर्डका निर्देशक लक्ष्मण गौतम, उद्योग वाणिञ्य महासंघ बागमती प्रदेश अध्यक्ष, दिल सुन्दर श्रेष्ठ, पर्यटन व्यवसायी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।