वैदेशिक रोजगार विभागअगाडि आइटी आर्मीको विरोध प्रदर्शन

वैदेशिक रोजगार विभागअगाडि आइटी आर्मीको विरोध प्रदर्शन

काठमाडौं । आम जनता पार्टीनिकट आईटी आर्मीको अगुवाइमा वैदेशिक रोजगार विभागअगाडि विरोध प्रदर्शन गरिएको छ । आइतबार वैदेशिक रोजगार विभागअगाडि भेला भई आईटी आर्मीमा आबद्ध व्यक्तिहरूले प्रदर्शन गरेका हुन् ।

आईटी आर्मीका अध्यक्ष चन्द्रभूषण साहले वैदेशिक रोजगारपीडितलाई न्याय दिलाउन विरोध प्रदर्शन गर्नुपरेको बताए । उनले वैदेशिक रोजगार क्षेत्रमा अवैध तरिकाले बिनाभौचर असुली भइरहेको भन्दै खबरदारी गरिएको उल्लेख गरे ।

उनले अवैध रकम असुली रोजगारपीडितलाई फिर्ता नगरेसम्म आफूहरूको आन्दोलन जारी रहने चेतावनी दिए । “...बिनारसिद पाँच हजार, १० हजारको रसिद दिएर दुई लाख, चार लाख, पाँच लाख रुपैयाँ जुन असुली भइरहेको छ, त्यो रकम फिर्ता दिलाउन र वैदेशिक रोजगारपीडितलाई न्याय दिलाउन,” उनले भने ।

उनले थपे, “विदेशमा अलपत्र परेकाहरूलाई उद्धार गराउन र फ्री भिसा, फ्री टिकटजस्ता नारामा मात्र नभई व्यवहारतः कार्यान्वयन हुनुपर्छ । त्यसको पूर्णतः कार्यान्वयन नभई संघर्ष जारी रहन्छ ।”