काठमाडौँ भित्रियो मनसुन, विभिन्न स्थानमा वर्षाको सम्भावना

काठमाडौँ भित्रियो मनसुन, विभिन्न स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । ६ दिनअघि नेपालको पूर्वी क्षेत्रबाट भित्रिएको पानी पार्ने मौसम प्रणाली ‘मनसुन’को प्रभाव काठमाडौँसम्म आइपुगेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्। 

मौसमविद् सरोज पुडासैनीले आज (शनिबार) बिहानदेखि कोसी प्रदेश, मधेस हुँदै बागमती प्रदेशको काठमाडौँसम्म मनसुनको प्रभाव विस्तार भएको जानकारी दिए। ‘कोसी प्रदेशको पूरै भूभाग, मधेसको जनकपुरदेखि बर्दिबाससम्म, बागमतीको पनि रामेछाप, काठमाडौँसम्म मनसुनको प्रभाव सुरु भइसकेको छ’, उनले  भने, ‘वर्षा नै गराइसकेको त छैन तर बादल आइरहेको छ, आज दिउँसो मधेस र बागमती प्रदेशका पनि केही ठाउँमा वर्षा पनि हुने सम्भावना छ।’

तर मनसुनका कारण वर्षा भइनसकेकाले कोसीबाट मनसुन थप प्रदेशमा प्रवेश गरेको बुलेटिनमार्फत औपचारिक घोषणा गर्न बाँकी रहेको मौसमविद् पुडासैनीको भनाइ छ।  यस क्रममा आज दिउँसो काठमाडौँ उपत्यकामा पनि मनसुनी वर्षाको सम्भावना देखिएको उनले बताए। ‘हल्का वर्षा हुने सम्भावना देखिन्छ’, उनले भने। 

मौसमविद् पुडासैनीका अनुसार मनसुनको प्रभाव सुरु भएसँगै सम्बन्धित क्षेत्रमा तापक्रम केही मात्रामा घट्ने र गर्मीमा केही राहत पुग्ने अपेक्षा गर्न सकिन्छ। ‘हाल काठमाडौँदेखि पूर्व ताप्लेजुङसम्म मनसुनको प्रभाव छ’, मौसमविद् पुडासैनीले भने, ‘काठमाडौँदेखि पश्चिम मनसुनको प्रभाव छैन अर्थात् अन्य प्रणालीको प्रभाव छ।’