मधेस छिर्‍यो मनसुन, २ स्थानमा भारी वर्षा

मधेस छिर्‍यो मनसुन, २ स्थानमा भारी वर्षा

काठमाडौँ । मनसुन प्रणालीका कारण देशको पूर्वी क्षेत्रमा भारी वर्षा हुन थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा कोसी प्रदेशका दुई स्थानमा भारी वर्षा भएको हो। 

शुक्रबार दिउँसो १२ः४५ बजेसम्मको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा मोरङको हरैँचामा ६७.८ मिलिमिटर र झापाको केचनामा ६० मिलिमिटर वर्षा मापन भएको हो। यसबाहेक पछिल्लो २४ घण्टामा देशका कुनै स्थानमा भारी वर्षा भएको देखाइएको छैन। मौसमविद्का अनुसार यही जेठ २८ गते नेपाल प्रवेश गरेको मनसुन हाल कोसी प्रदेशमा सक्रिय छ। शुक्रबारदेखि भने मधेस प्रदेशसम्म आइपुगेको मौसमविद्ले बताएका छन्। 

मनसुन प्रवेश गरेको चार दिन भइसक्दा कोसी प्रदेशको पूर्वी क्षेत्रमा बाढीपहिरोले क्षतिसमेत पुर्‍याउन थालिसकेको छ। पछिल्लो २४ घण्टामा कोसी प्रदेशकै अन्य विभिन्न स्थानमा मध्यम वर्षा भएको छ। मौसम महाशाखाको विवरणअनुसार मध्यम वर्षामा सबैभन्दा बढी इलामको माइपोखरीमा ३८.४ मिलिमिटर वर्षा भएको छ भने इलामकै राकेमा ३२ मिलिमिटर वर्षा भएको छ। यसैगरी झापाको कन्काई मैनाचुली भन्ने स्थानमा ३२ मिलिमिटर वर्षा मापन भएको मौसम महाशाखाले जनाएको छ। 

पछिल्लो २४ घण्टामा हालसम्म मनसुन प्रवेश गरिनसकेको बागमती प्रदेशको सिन्धुपाल्चोकस्थित धाप स्टेसनमा पनि ४३ मिलिमिटर वर्षा भएको छ। यसैगरी गण्डकी प्रदेशको स्याङ्जा जिल्लास्थित स्याङ्जा स्टेसनमा पनि ३८.८ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ। यसैगरी दोलखाको लामाबगरमा ३१।८ मिलिमिटर वर्षा भएको छ। यसबाहेक देशका अन्य स्थानमा पनि हल्कादेखि मध्यमसम्म वर्षा भएको छ, तर ३० मिलिमिटरभन्दा मुनि छ। 

मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा मुनिको वर्षालाई हल्का, यसभन्दा माथि तर ५० मिलिमिटरभन्दा मुनिको वर्षालाई मध्यम तथा ५० मिलिमिटरभन्दा माथि तर १०० मिलिमिटरभन्दा मुनिसम्मको वर्षालाई भारी वर्षा भनिन्छ।  हाल देशको पूर्वी क्षेत्रमा मनसुनी प्रणालीको प्रभाव छ भने देशका बाँकी स्थानमा स्थानीय वायु, पश्चिमी वायु र भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम महाशाखाले जनाएको छ।