नक्कली भौचर दिएर बैंकका कर्मचारीद्वारा बचतकर्ताको लाखौं रकम झ्वाम

नक्कली भौचर दिएर बैंकका कर्मचारीद्वारा बचतकर्ताको लाखौं रकम झ्वाम

रुपन्देही । रुपन्देहीको मर्चवारस्थित माछापुच्छ्रे बैंकको शाखारहित सेवा केन्द्रका कर्मचारीले दर्जनौं बचतकर्ताको रकम झ्वाम पारेका छन् । उनले नक्कली बैंक भौचर दिएर बचतकर्ताको लाखौं रुपैयाँ झ्वाम पारेका हुन् ।

अनेक दुःख गरेर जम्मा गरेको रकम आफ्नो बैंक खातामा नभेटिएपछि पीडित बचतकर्ताहरुले जिल्ला प्रशासन, नेपाल राष्ट्र बैंक र बैंकका केन्द्रीय कार्यालय गुहारोका छन्, तैपनि आफ्नो रकम फिर्ता पाउन सकेका छैनन् ।

पीडितहरुका अनुसार रमेश चौहान नाम गरेका बैंकका कर्मचारीले ४५ जना बचतकर्ताबाट उठाएको रकम बैंकमा इन्ट्री नै नगरी आफैले चलाएका छन् । सम्मरीमाई गाउँपालिका–२ घर भएका हरिराम अहिरले चौहानमार्फत बैंकको खातामा जम्मा गरेको ४ लाख रूपैयाँ गायब भएको बताए । चौहानले बैंकको छाप भएकै भौचर दिएको तर, पछि पैसा लिन जाँदा बैंकको खातामै पैसा नभएको जानकारी पाएको उनले सुनाए ।

स्थानीय हरिजन केवटले १ लाख ५३ हजार ३३६ रुपैयाँ बैंकमा जम्मा गरेको, तर पछि बुझ्दा ४१४ रुपैयाँमात्रै खातामा भएको पाइएको बताए । बैंकका कर्मचारी चौहानले आफ्नो पैसा खाताबाटै गायब पारेको उनले आरोप लगाए ।

बैंक खातामा आफूहरुले जम्मा गरेको रकम नदेखिएपछि अहिर र केवटलगायत ६० जनाले पैसा फिर्ता माग्दै भैरहवास्थित माछापुच्छ्रे बैंक घेरेका थिए । त्यसपछि स्थानीय प्रशासनको रोहबरमा पीडित र बैंकका प्रतिनिधिबीच छलफल भए पनि कुनै निकास ननिस्केको पीडितहरु बताउँछन् । पीडितहरूले ३ हजारदेखि ४० लाख रुपैयाँसम्म बैंकका कर्मचारीले गायब पारेको दाबी गरेका छन् ।

पीडितहरुले आआफ्नो गायब भएको रकम उल्लेख गर्दै बैंकमा निवेदन दिएका छन् । पीडितको पक्षमा वकालत गर्दै आएका भोपेन्द्र यादवले बचतकर्ताको रकम फिर्ता दिनुपर्ने बैंकका कर्मचारी चौहान फरार रहेको बताए ।