सालीको ऋण तिर्न दम्पतीको हत्या, बयान सुन्दा प्रहरी नै चकित

सालीको ऋण तिर्न दम्पतीको हत्या, बयान सुन्दा प्रहरी नै चकित

काठमाडौं । काभ्रे प्रहरीले महाभारत गाउँपालिका ४ तीनखुट्टेमा दम्पती हत्याको अभियोगमा एकजनालाई पक्राउ गरेको छ ।

जेठ ७ गते रति मानबहादुर बल र उनकी पत्नी कैकैमाया तामाङको हत्या गरी फरार सिन्धुपाल्चोक जुगल गाउँपालिका- १ का ३८ वर्षीय एकेन्द्र सार्कीलाई प्रहरीले सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी वसुन्धरा खड्काका अनुसार एकेन्द्रले फलामको रड र घनलगायतका औजारले हानेर उनीहरूको हत्या गरेका थिए ।

हत्यापछि सुनका गरगहनाहरू, मृतकहरुको पसलमा रहेको रिचार्ज कार्ड तथा नगद लुटी लगेको अनुसन्धानबाट खुलेको छ । एकेन्द्रले आफ्नो आर्थिक अवस्था कमजोर रहेको र ऋण तिर्न नसकेकाले लुटपाट गर्न हत्या गरेको बयान दिएका छन् ।

३ लाख रूपैयाँ ऋण रहेको र सालीको ऋण यही जेठभित्रै तिर्नुपर्ने भएकाले उनले पैसाको जोहो गर्न यो घटना घटाएको पाइएको एसपी खड्काले बताइन् । तामाङ दम्पतीको पसल नजिकै बाटो बनाउने काममा रहेका एकिन्द्रले त्यहाँ पसल जाँदा कैकैमायाले लगाएको सुनको गहना र दोकानको पैसाले ऋण तिर्न सक्ने अनुमान लगाएका थिए ।

‘श्रीमतीले समेत बहिनीको ऋण तिर्ने पटकपटक फोन गरेपछि नम्बर नै ब्लक गरेको पनि पाइयो’, एसपी खड्काले भनिन् ।

काभ्रेकै तेमाल गाँउपालिका(२ काफलडाँडास्थित चुखाबाट तीनपिपल जाने कच्ची सडकमा ५७ वर्षीया साहिली तामाङलाई रडले हानेर हत्या गरेको अभियोगमा मानध्वज तामाङलाईसमेत पक्राउ गरी सार्वजनिक गरिएको छ ।