तिनाउ नदीमा नुहाउन गएका तीन भारतीय युवाको  डुबेर मृत्यु

तिनाउ नदीमा नुहाउन गएका तीन भारतीय युवाको  डुबेर मृत्यु

पाल्पा । पाल्पाको तिनाउ नदीमा डुबेर तीन दिनमा तीन जना भारतीय युवाको मृत्यु भएको छ। गत शनिबारदेखि सोमबारसम्म हरेक दिन एकएक जना भारतीय युवाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार शनिबार र आइतबारजस्तै सोमबार पनि भारत महाराजगञ्ज बोधहनिथाना बसहियाका २३ वर्षीय मुकुन्द शर्माको डुबेर मृत्यु भएको हो।

साथीहरूसँग घुम्न आएका शर्मा सोमबार साँझ पौडी खेल्न भन्दै तीन जना साथीसहित पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ झुम्साको लामेदमारस्थित तिनाउ खोलामा पुगेका थिए। प्रहरीका अनुसार साँझ ६ बजेतिर पौडी खेल्दै गरेका शर्मा अचानक खोलाको रहमा डुबेका थिए। 

खोलामा डुबेका शर्मालाई सँगै गएका तीन जनाले तत्काल उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगेलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। 

चर्को गर्मी छल्न भन्दै बुटवल, भैरहवा, लुम्बिनी लगायत भारतका सुनौली, नौतनहवा, गोरखपुरबाट समेत दैनिक रूपमा सयौं युवाहरु तिनाउ नदीमा पौडी खेल्न जाने गर्छन्। खोलाको खोँचका रह र पोखरीको गहिराइ आकलन नगरी पौडी खेल्दा हरेक वर्ष यसै गरी युवाको मृत्यु हुने गरेको छ।