विश्वकप खेल्न वैकल्पिक बाटोबाट वेस्ट इन्डिज पुगेपछि सन्दीपले दिए यस्तो प्रतिक्रिया

विश्वकप खेल्न  वैकल्पिक बाटोबाट वेस्ट इन्डिज पुगेपछि सन्दीपले दिए यस्तो प्रतिक्रिया

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्न सन्दीप लामिछाने वेस्ट इन्डिज पुगेका छन् । विश्वकपमा सहभागी गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै उनले क्यान पदाधिकारीहरूको नाम जोडेर फैलाइएका प्रपोगाण्डामा विश्वास नगर्न पनि उनले आग्रह गरेका छन् ।

उनले विश्वकप क्रिकेटमा सहभागितालाई सम्भव बनाउन क्यान अध्यक्ष चतुर बहादुर चन्द, क्यानका सचिव पारस खड्का, वकिल सरोज घिमिरे, विनोद दास लगायतलाई धन्यवाद दिएका छन् ।

उनले भनेका छन्, ‘चतुर सर र पारस दाइजस्ता महत्त्वपूर्ण व्यक्तित्वहरूको छविलाई कलङ्कित गर्न झुटो प्रचार भइरहेको छ । त्यस्ता प्रपोगाण्डामा विश्वास नगर्नुहोला । उनीहरूकै पहल र सक्रियताले मेरो विश्वकप सहभागिता सम्भव भएको छ ।’

अरिकाले भिसा नदिएपछि रोकिएका उनी वैकल्पिक बाटोबाट वेस्ट इन्डिज गएकाे बताइएकाे छ। अमेरिकामा नेपालले खेल्ने दुई म्याच उनले गुमाए पनि वेस्ट इन्डिजमा उनले खेल्न पाउने भएका छन्।

‘जारी आईसीसी पुरुष टी-२० विश्वकप २०२४ का लागि नेपाली खेलाडी सन्दीप लामिछाने वेस्ट इन्डिज प्रस्थान भई नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने जानकारी गराउन चाहन्छौं। सम्मानित उच्च अदालत पाटनले गत मे १५ मा दिएको फैसलासँगै नेपाल क्रिकेट संघले पूर्व घोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीप लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेश गरेको थियो,’ विज्ञप्तिमा भनिएको छ।

सन्दीप लामिछाने गत मे १६ तारिखदेखि नै नेपालको आधिकारिक टोलीमा रहेको क्यानको भनाई छ । उनको अमेरिकी भिसा प्राप्त नभएता पनि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेशविरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने क्यानले जानकारी गराएको छ ।

साथै, लामिछानेको भिसासँग सम्बन्धित क्यानप्रति लक्षित नकारात्मक वक्तव्यबाजी सत्य नरहेको जानकारी समेत गराइएको छ।