झोलुङ्गे पुलमा फसेका ९ वटा खच्चडको उद्धार, २ वटाको मृत्यु

झोलुङ्गे पुलमा फसेका ९ वटा खच्चडको उद्धार, २ वटाको मृत्यु

काठमाडौं । अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा फसेका ९ वटा खच्चड सकुशल उद्धार गरिएको छ । उद्धार गर्ने क्रममा २ वटा खच्चडको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय दैलेखका निमित्त जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले जानकारी दिए ।

अछामबाट दैलेख आउने क्रममा आज बिहान पुलको लट्ठा चुँडिदा फसेकामध्ये अझै २ वटाको उद्धार गर्नै बाँकी रहेको कोइरालाले जानकारी दिए । पुलबाटै उद्धार सम्भव नभएपछि तार काटेर कर्णालीमा खसाल्न थालिएको थियो ।

पुलमा फसेका खच्चडको उद्धार गर्न नेपाली सेना सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय लगायत खटिएका सूचना अधिकारी कोइरालाले बताए। उनका अनुसार पुलमा फसेका खच्चडलाई कर्णाली नदीमा खसाएर बोटका माध्यमबाट उद्धारको काम भइरहेको हो।