केही दिनमै मनसुन नेपाल प्रवेश गर्दै, के भन्छन् मौसमविद् ?

केही दिनमै मनसुन नेपाल प्रवेश गर्दै, के भन्छन् मौसमविद् ?

काठमाडौं । यो वर्षको मनसुन केही दिनमा नेपाल भित्रिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यद्यपि, मनसुन कुन दिन भित्रिन्छ यकिन नरहेको विभागको भनाइ छ । 

मनसुन भारतको सिक्किमसम्म आइपुगेको छ । मनसुन गत शनिबार नै सिक्किम आइपुगेको थियो । सिक्किम आइपुगेको मनसुनी प्रणाली अगाडि बढेर नेपाल प्रवेश गर्ने हो । 

“मनसुनका केही सिस्टम दिखन थालेका छन् । औसत मितिअनुसार अब हामी मनसुन प्रवेशको नजिक पनि आइसकेका छौँ,” मौसमविद् रोजन लामिछानेले भने, “मनसुनी प्रणाली भारतको सिक्किमसम्म आएकाले त्यहाँबाट अगाडि बढेपछि नेपाल प्रवेश गर्न धेरै समय लाग्दैन ।” मनसुन नेपालको पूर्वी भू–भागबाट नेपाल प्रवेश गर्छ । 

गत शनिबार नै सिक्किमसम्म मनसुन आए पनि ‘मनसुन ब्रेक’ भएका कारण त्यहाँबाट नेपालतर्फ अगाडि बढ्न सकेको छैन । त्यहाँ मनसुन आएको थियो र ‘ब्रेक’ भयो अथवा आएकै थिएन भन्नेमा मौसमविद्ले शंका व्यक्त गरेका छन् । मनसुनका केही इन्डिकेटर देखिनबित्तिकै वर्षा भएकै अवस्थामा मनसुन सुरु भयो भन्न नमिल्ने एक मौसमविद्को भनाइ छ । 

नेपालमा मनसुनका लागि पूर्ण रूपमा प्रणाली बनिनसकेको मौसमविद् बताउँछन् । मनसुन सुरु हुन त्यसका लागि आवश्यक पर्याप्त प्रणाली बन्नु पर्नेहुन्छ, जुन अहिलेसम्म बनिसकेको छैन । सबै नबने पनि केही प्रणाली भने बनेको मौसमविद् लामिछानेको भनाइ छ ।  

मनसुन सुरु हुन वायुमण्डलको तल्लो सतहमा जलवाष्पयुक्त हावा हुनुपर्छ । बंगालको खाडी हुँदै दक्षिण–पूर्वी दिशाबाट आएको जलवाष्पयुक्त हावाले वायुमण्डलको तत्लो सतह भरिनुपर्छ । जुन वायुमा पानी पार्ने वाष्प हुन्छ । मनसुनमा वायुमण्डलमा रहेको त्यही जलवाष्पयुक्त हावाले पानी पार्ने हो । 

हिन्द महासागरबाट विकास भई बंगालको खाडी हुँदै दक्षिण–पूर्वी दिशाबाट मनसुनी वायु प्रणाली नेपाल प्रवेश गर्छ । मनसुन प्रवेश गर्ने औसत मिति जुन १३ हो । औसत मिति आउन पाँच दिन बाँकी छ । तर, औसत समयभन्दा अगाडि अथवा पछाडि पनि मनसुन भित्रिनसक्छ ।