काठमाडौं महानगर क्षेत्रभित्रका सार्वजनिक शौचालय निःशुल्क

काठमाडौं महानगर क्षेत्रभित्रका सार्वजनिक शौचालय निःशुल्क

काठमाडौँ । काठमाडौं महानगरपालिकाभित्रका सार्वजनिक शौचालयले शौचालय प्रयोग गरेबापत शुल्क लिन नपाउने भएका छन्। महानगरपालिकाले बिहीबार सूचना जारी गर्दै अब सेवाग्राहीले महानगरभित्रका सबै शौचालय निःशुल्क प्रयोग गर्न सक्ने जनाएको हो।

सूचनामा भनिएको छ, ‘सार्वजनिक उपयोगमा रहने गरी निर्माण गरिएका तथा सञ्चालनमा रहेका सार्वजनिक शौचालयले सेवाग्राहीसँग कुनै पनि शुल्क नलिन सूचना जारी गरिएको छ। निस्शुल्क रूपमा सञ्चालित सार्वजनिक शौचालयका लागि महानगरपालिकाले आवश्यकताअनुसार जनशक्ति, सामग्री, मर्मत–सम्भार र सरसफाइ सहयोग उपलब्ध गराउने भएकाले शुल्क लिई सञ्चालन गरिरहेका सार्वजनिक शौचालयका सञ्चालक र व्यवस्थापकले सूचना प्रकाशित भएको १५ दिनभित्र महानगरको सार्वजनिक–निजी साझेदारी एकाइमा प्रस्ताव पेस गर्न हुन अनुरोध गरिन्छ।’ 

महानगरभित्रका सबै शौचालय निःशुल्क बनाउने योजनाअनुसार सूचना जारी गरिएको हो। महानगरभित्र विभिन्न संघ–संस्था, होटल, रेस्टुरेन्टका एक सय पाँच शौचालय निस्शुल्क छन् भने महानगरले सञ्चालन गरिरहेका ४४ र निजी संस्थाले सञ्चालनमा ल्याएका ६ वटा स्मार्ट शौचालयले शुल्क लिँदै आएका छन्। महानगरका अनुसार तोकिएको समयपछि महानगरभित्रका सबै सार्वजनिक शौचालय निस्शुल्क सञ्चालन गर्नुपर्नेछ। सूचनाविपरीत सार्वजनिक शौचालय प्रयोगबापत शुल्क असुल गरे कारबाही हुनेछ।

यसैगरी महानगरले कुनै सरकारी, गैरसरकारी संस्था वा निजी क्षेत्रबाट आफ्नो परिसरभित्र वा बाहिर सार्वजनिक शौचालय सञ्चालन गरिरहेको हकमा समेत निःशुल्क शौचालय सेवा उपलब्ध गराउन अनुरोध गरेको छ। हाल महानगरभित्रका शौचालय प्रयोग गरेबापत पाँचदेखि १० रुपैयाँ शुल्क तिर्नुपर्छ।