प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कोटाबाट मन्त्री नियुक्त भएका हितबहादुर तामाङलाई फिर्ता बोलाएर नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलाई पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाउने चर्चा चल्यो।
रञ्जिताले पनि आफ्नो पार्टी सरकारमा सहभागी हुन तयार गरेको जनाइन्। प्रधानमन्त्रीलाई विश्वासको मत दिएका नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा ल्याउन प्रधानमन्त्रीले पहल गरिरहेका छन्।
त्यसका लागि एक जना एमाले र अर्को जना माओवादीबाट एक एक जना मन्त्री फिर्ता बोलाउने विषयमा छलफल भइरहेको छ।
जनमत पार्टीलाई मधेस प्रदेश सरकारको नेतृत्व दिएका एमाले र माओवादीले नागरिक उन्मुक्तिलाई सुदूरपश्चिम सरकारको नेतृत्व दिने तयारी गरेका थिए।
तर जटिल अंक गणितका कारण माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले सुदूर पश्चिम सरकारको नेतृत्व गरेपछि नागरिक उन्मुक्ति पार्टी संघीय सरकारमा सहभागी हुन हतारिएको छ।
उसलाई दिने मन्त्रालय पनि करिव करिव टुंगो लागेको बताइएका बेला एमालेले आफ्नोतर्फबाट सरकारमा सहभागी मन्त्री फिर्ता बोलाउन इच्छा नदेखाएका कारण प्रधानमन्त्री अप्ठेरोमा छ।
त्यसो त बिहीबार मात्रै एमाले महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धन अगाडि बढाउन आफ्नो पार्टी थप त्याग गर्न तयार रहेको बताएका छन्।
उनको यो अभिव्यक्तिले जनमतलाई सरकारमा सहभागी गराउन एक जना मन्त्री फिर्ता बोलाउन तयार रहेको संकेत देखिएको छ। तर एमालेका नेताहरु यो विषयमा पार्टीमा कुनै छलफल नै नभएको बताउँछन्।
स्रोतका अनुसार एमालेले महिला मन्त्री भगवती चौधरीलाई फिर्ता बोलाउने तयारी गरेको छ। महिला मन्त्रालयको जिम्मेवारी जनमत वा नागरिक उन्मुक्ति कसलाई दिने भन्ने विषय प्रधानमन्त्रीले तय गर्ने बताइएको छ। तर त्यसकालागि मधेश सरकारले पूर्णता पाउनु पर्ने एमालेले सर्त राखेको छ।
सरकारकी प्रवक्ता रेखा शर्माले केन्द्रको गठबन्धनमा नेपाल उन्मुक्ति पार्टी र जनमत पार्टी रहेकाले उनीहरुलाई सरकारमा समावेश गर्ने कुरा स्वभाविक रहेपछि अहिले कुन मन्त्रालयमा सहभागी गराउने भन्ने बिषयमा निर्णय भइनसकेको बताउँछिन्।