बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरी निरीक्षक पक्राउ

बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरी निरीक्षक पक्राउ

काठमाडौँ । काठमाडौँको स्वयम्भूमा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) पक्राउ परेका छन्। 

काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता, एसपी नवराज अधिकारीले एकजना बालिकालाई यौन दुर्व्यवहार भएको उजुरी आएको र अनुसन्धानका लागि प्रहरी निरीक्षकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए। 

‘बालिकालाई यौन दुर्व्यवहार भएको गुनासो आएको छ’, एसपी अधिकारीले बिहीबार बिहान  भने, ‘आरोप के कति साँचो हो, हामी अनुसन्धानमै छौँ, ती इन्स्पेक्टरलाई अहिले प्रहरी वृत्त स्वयम्भूको नियन्त्रणमा राखेका छौँ, आरोप परिपक्व भइसकेको छैन, भएपछि हामी विस्तृत जानकारी दिनेछौँ।’

पीडित बालिकाको उमेर १३ वर्ष भएको बताइएको छ। अनुसन्धान जारी रहेको भन्दै प्रहरीले घटना विस्तृत बताउन चाहेन।