कच्चा तेलको मूल्यमा भारी गिरावट

कच्चा तेलको मूल्यमा भारी गिरावट

काठमाडौँ । पछिल्लो एक सातामा कच्चा तेलको मूल्य औसत ८ प्रतिशतले घटेको छ । डब्लूटीआई कच्चा तेलको भाउ एक सातामा ८.३ प्रतिशत घटेको छ । जेठ १५ गते प्रतिब्यारेल ७९.८३ डलर मूल्य रहेकोमा बुधबार(बिहान १० बजे) ७३.२० डलरमा झरेको छ ।

त्यस्तै ब्रेन्ट तेलको मूल्य सोही अवधिमा प्रतिब्यारेल ८३. ९४ डलरबाट घटेर ७७.४९ मा कायम भएको छ । सो अवधिमा मुर्बान कच्चा तेलको भाउ प्रतिब्यारेल ८५.३ डलरबाट ७८.०३ डलरमा झरेको छ ।

अमेरिकामा पेट्रोलियम मौज्दात बढ्दा त्यसले समग्र मूल्यमा प्रभाव पारेको सञ्चारमाध्यम आयलप्राइसले जनाएको छ । अमेरिकी ऊर्जा विभागको तथ्यांक अनुसार अमेरिकामा हाल मौज्दात तेलको परिमाण ३४ करोड ब्यारेल पुगेको छ, जुन परिमाण मे ३१ यताकै उच्च हो ।

अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य गिरावटले नेपालमा पनि असर पार्दछ । कच्चा तेलको मूल्य घट्दा भारतीय आयल कर्पोरेसनले नेपाललाई दिने तेलको मूल्य पनि घट्न जान्छ । परिवर्तन भएको मूल्यअनुसार नेपाल आयल निगमले १५–१५ दिनमा नयाँ मूल्य तय गर्दै आएको छ ।