काठमाडौं । ललितपुरको फुल्चोकी–नौधारा सडकखण्डमा हिलो बाटोमै कमसल कालोपत्रे गरिएको भन्दै गोदावरी नगरपालिका–३ का वडाध्यक्ष सानुराजा घिमिरेले भत्काइदिएका छन् ।
हिलो माटोमा कालोपत्रे नगर्न आग्रह गर्दा पनि अटेरी गरेको र त्यसमा पनि कमसल कालोपत्रे प्रयोग भएको पाएपछि आफूहरुले भत्काइदिएको वडाध्यक्ष घिमिरेले बताए ।सडक विभागले उक्त सडकखण्डअन्तर्गत १८ करोड रुपैयाँमा कालोपत्रेसहित सडक सुधारको काम गरिरहेको छ ।
‘यो हाम्रो टुरिस्ट हिँड्ने बाटो हो । ३/४ दिनदेखि सडक कालोपत्रे भइरहेको थियो’, वडाध्यक्ष घिमिरेले भने, ‘मापदण्ड पुगेको छैन भनेर सुरुदेखि नै भन्दै आएको हुँ । हिजो त झन् हिलोमै कालोपत्रे भएपछि भत्काउन बाध्य भएका हौं ।’ हिलो कालोपत्र नगर्न पटकपटक आग्रह गर्दा पनि अटेरी गरेपछि आफूहरुले भत्काइदिएको वडाध्यक्ष घिमिरेको भनाइ छ ।