कर्मचारीले बाटो बन्द गर्दा विवाद, ट्राफिककै सामुन्ने कुटाकुट

कर्मचारीले बाटो बन्द गर्दा विवाद, ट्राफिककै सामुन्ने कुटाकुट

काठमाडौं । काभ्रेको बनेपामा हिमाल–तराई यातायात सेवा प्रालि र अरनिको यातायात सेवा प्रालिका कर्मचारीहरुबीच कुटाकुट भएको छ ।

अरनिको यातायातका कर्मचारीहरुले मूल सडकमै बस तेर्स्याएर चक्काजाम गरेपछि विवाद भएको थियो । सोही क्रममा दुई यातायात सेवाका कर्मचारीहरुबीच झडप भएको हो ।

यातायात खुलाउने प्रयासमा पुगेका ट्राफिक प्रहरीकै सामुन्ने उनीहरुबीच कुटाकुट भएको थियो । पछि प्रहरीले छुट्याएको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक राजाराम खतिवडाले अहिले अवस्था सामान्य रहेको बताए ।

अरनिको यातायातको सिन्डिकेट भएको भन्दै हिमाल–तराई लगायतका यातायात व्यवसायीले विरोध जनाउँदै आएका छन् । सोही क्रममा मंगलबार ओखलढुंगा र काठमाडौंमा विवाद भएको थियो । सोही विषयलाई लिएर अरनिको यातायातले बीच बाटोमै बस तेर्स्याएर चक्काजाम गर्दा अन्यले विरोध गरेका थिए । कुटाकुटको कारण पनि त्यही भएको प्रहरी निरीक्षक खतिवडाले बताए ।