काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्य हालसम्मकै उच्च कायम गरेको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।
नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यही जेठ १८ गते छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यो रेकर्डलाई आज ‘ब्रेक’ गरेको हो ।
सोमबारको तुलनामा मंगलबार छापावाल सुन प्रतितोला एक हजार ७०० रुपैयाँले बढेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो ।मंगलबार तेजाबी सुन प्रतितोला एक लाख ४२ हजारमा कारोबार भइरहेको छ । त्यस्तै, मंगलबार चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी एकैदिन २५ रुपैयाँले बढेर कारोबार भइरहेको छ ।