काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएकोमा संसदमा विरोध जनाएका छन् ।आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले अमेरिकाले सन्दीपलाई भिसा नदिनु भनेको देशकै अपमान भएको बताए ।
उनले भने, ‘सन्दिप लामिछानेलाई भिसा नदिनु भनेको सन्दीप र नेपाली नागरिकको मात्र होइन यो सिंगो नेपालकै अपमान हो ।’ उनले भने, ‘उच्च अदालतले निर्दोष घोषणा गरेको मान्छेलाई भिसा लाग्दैन एक देशले अर्को देशको अस्तित्व स्वीकार गर्ने भनेको छ । के आज हाम्रो सम्बन्ध स्थापित भयो ? एउटा राष्ट्रिय खेलाडीलाई भिसा दिइएन !
यही जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्न तयार सन्दीप लामिछानेको भिसा अमेरिकाले दोस्रो पटक पनि रिजेक्ट गरिदिएको थियो ।बिहीबार अपराह्न ४ बजे अन्तरवार्ताका लागि महाराजगन्जमा बोलाइएका सन्दीपलाई एक महिनाभित्र दोस्रो पटक अमेरिकी दूतावासले भिसा दिन नमानेको हो ।
सांसद शाहीले नेपालको बेइज्जत हुँदा पनि काम गर्न नसक्ने भन्दै खेलकुद, पराष्ट्रमन्त्री र मन्त्रालयको नैतिकतामा प्रश्न उठाए । “अदालतले न्याय दिन्छ, क्यानले नाम पठाउँछ, आईसीसीले स्वीकृत गर्छ, खेलाडीको भिसा लाग्दैन । अनि, प्रधानमन्त्री र मन्त्री देशको झन्डा हल्लाएर हिँड्न लाज लाग्दैन ?,” उनले भने, “मन्त्रीले स्टन्टबाज मात्र गर्ने हो ?”