तराईमा तातो हावाको सम्भावना, स्वास्थ्यमा यस्तो असर पर्न सक्ने चेतावनी

तराईमा तातो हावाको सम्भावना, स्वास्थ्यमा यस्तो असर पर्न सक्ने चेतावनी

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले यो वर्ष सातौंपटक तातो हावाक‍ो लहर चल्ने चेतावनी जारी गरेको छ ।पछिल्लोपटक जेठ १९ र २० गते दुई दिन तातो हावाको लहर चल्ने चेतावनी जारी भएको छ । यसअघि महाशाखाले तीन-तीन दिन तातो हावा चल्ने चेतावनी जारी गर्थ्यो ।

विगतका दिनमा जस्तै आज शनिबार र भोलि आइतबार पनि सबैभन्दा बढी लुम्बिनीदेखि सुदूरपश्चिमसम्मका तराई क्षेत्रका जिल्ला नै तातो हावाबाट प्रभावित हुनेछन् । पछिल्ला दिनमा नेपालमा गर्मी अत्यधिक बढेको छ । तराईका केही जिल्लाहरूमा ४० डिग्री सेल्सियसभन्दा धेरै तापक्रम मापन भएको छ ।

सम्भावित असर 
तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि। 

बच्ने उपाय
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नबस्ने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, पटक(पटक पानी तथा झोल पदार्थ (जुस, सर्वत आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या देखिए स्वास्थ्यकर्मीसँग सल्लाह, सुझाव लिने।