मेयर बालेन र वडाध्यक्षबीच कार्यपालिका बैठकमै चर्काचर्की

मेयर बालेन र वडाध्यक्षबीच कार्यपालिका बैठकमै चर्काचर्की

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र वडा नम्बर २२ का वडाध्यक्ष चिनिकाजी महर्जनबीच कार्यपालिका बैठकमै चर्काचर्की भएको छ। शुक्रबार बसेको कार्यपालिका बैठकमा वडाध्यक्ष महर्जनले न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार भइरहेको कुरा पत्रपत्रिकाबाट थाहा पाउनु परेको बताएपछि चर्काचर्की सुरू भएको हो।

‘देशकै एक ल्याण्डमार्क शहरमा पेटी बनाउने कुरा मैले पत्रिका पढेर थाहा पाउनुपर्ने, यो किन भइरहेको छ?,' वडाध्यक्षले बैठकमा प्रश्न गरे। मेयर बालेनले फुटपाथ विस्तारको काम वडा नम्बर २४ मा भएकाले वडा नम्बर २२ का वडाध्यक्षले आपत्ति जनाउनुपर्ने विषय नरहेको बताए।

बालेनले कार्यपालिका बैठकमा वडा नम्बर २४ का वडाध्यक्ष विनोदकुमार राजभण्डारीले इन्द्रचोकदेखि विशाल बजारको क्षेत्रको फुटपाथमा मान्छेलाई हिँड्न गाह्रो भएको, लुटपाट, दुर्व्यवहार, पाकेटमार लगायतका घटना भएको भनेर गुनासो गरेको जानकारी दिएका थिए।

त्यसपछि वडाध्यक्षकै पहलमा फुटपाथ विस्तारको काम अघि बढाएको र त्यसमा वडा नम्बर २२ का वडाध्यक्षलाई कुनै समस्या नहुनुपर्ने मेयरले बताएका थिए। ‘२४ मा काम भइरहेको छ। २२ मा काम भएकै छैन, तपाईंलाई के समस्या भो?,’ मेयर शाहले वडाध्यक्ष महर्जनलाई प्रश्न गरे। जवाफमा वडाध्यक्ष महर्जनले समग्र न्युरोड क्षेत्रको बारेमा आवाज उठाएको बताएका थिए।

‘न्यूरोड कहाँ पर्छ, न्यूरोडको भूगोल कहाँ पर्छ? अहिले भूगोलको विषयमा तपाईंलाई ज्ञान नभएको हो?,’ उनको प्रश्न थियो। वडाध्यक्ष महर्जनले न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार गर्न एकीकृत टेण्डरमा गएको हुँदा एउटा वडाको मात्र विषय नहरहेको बताएका थिए। त्यसैबीचमा मेयर बालेन र वडाध्यक्षको लामो सवाल-जवाफ भएपछि वडा नम्बर १७ का वडाध्यक्षले दुई जनाले दोहोरी खेलेर निचोडमा पुग्न नसकिने बताएका थिए।

'यसलाई लामो कुरा गरेर टुंग्याउन सकिँदैन,' उनले भने, 'दुई जनाको मात्र दोहोरी मात्र खेलेर पनि हुँदैन।'त्यस्तै, समिति गठन गरी अध्ययन गरेर प्रतिवेदनले सुझाए अनुसार काम गर्न आग्रह गरे।

छुटाउनुभयो कि ?