टी–२० विश्वकपमा आतंककारी आक्रमणको धम्की

टी–२० विश्वकपमा आतंककारी आक्रमणको धम्की

काठमाडौँ । आईसीसी टी–२० विश्वकपमा भारत र पाकिस्तानबिचको खेलका क्रममा  आतंककारी हमलाको धम्की आएपछि न्यु योर्कमा सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ । 

टी–२० विश्वकपमा भारत र पाकिस्तानबिचको खेल जुन ९ तारिखमा न्यु योर्कको आइसनहोवर पार्कस्थित नसाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेलिँदैछ । आतङ्ककारी आक्रमण धम्की आएपछि सुरक्षा व्यवस्था निकै कडा बनाइएको स्थानीय प्रशासनले जनाएको छ ।

आतंकवादी संगठन आईएसआईएस खोरासनले एक भिडियो सार्वजनिक गर्दै भारत र पाकिस्तानबिचको खेलका क्रममा आक्रमणको चेतावनी दिएको हो । उक्त भिडियोमा खेलका क्रममा ‘लोन उल्फ’ आक्रमण गर्ने धम्की दिइएको छ ।

‘लोन उल्फ’ आक्रमण भनेको कुनै एक व्यक्तिलाई प्रयोग गरेर गरिने आतङ्ककारी आक्रमण हो । न्यु योर्कका गभर्नर क्याथी होचलका अनुसार, विश्वकपका क्रममा कुनै गम्भीर खतराको सङ्केत देखिएको छैन । उनका अनुसार सुरक्षा व्यवस्थालाई भने निकै कडा पारिएको छ ।

विश्व क्रिकेटमा यसअघि पनि पटक–पटक आतङ्ककारी हमला भएको छ । सन् २००९ मा श्रीलङ्काली टोली तीन टेस्ट र पाँचवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाकिस्तान भ्रमणमा गएको थियो ।

यसै क्रममा मार्च ३ तारिखमा दोस्रो टेस्टको तेस्रो दिन गद्दाफी स्टेडियम नजिकै श्रीलङ्काली खेलाडी सवार बसमा आतंककारी आक्रमण भएको थियो । त्यतिबेला १२ जनाको समूहले श्रीलङ्काली खेलाडी सवार बसमा गोल चलाएका थिए ।

त्यो हमलामा परेर श्रीलङ्काली टोलीका कप्तान माहेला जयाबद्र्धने, कुमार सांगाकार लगायतका सात जना चर्चित खेलाडी घाइते भएका थिए । पाकिस्तानका ६ सुरक्षाकर्मी र दुईजना सर्वसाधारणको मृत्यु पनि भएको थियो । त्यो घटनापछि लामो समयसम्म कुनै पनि देशका खेलाडी पाकिस्तानमा क्रिकेट खेल्न गएका थिएनन् ।

यसैगरी, सन् २००२ मा न्युजिल्यान्डको क्रिकेट टोली पाकिस्तान भ्रमणमा भएको थियो । सुरुको तीनवटा एक दिवसीय अन्तर्राष्ट्रिय खेल पाकिस्तानले जितिसकेको थियो । त्यसपछि खेलिएको पहिलो टेस्टमा पनि पाकिस्तान विजयी भएको थियो ।

दोस्रो टेस्ट कराँचीमा खेलिने कार्यक्रम रहेको थियो । दोस्रो टेस्टका लागि न्युजिल्यान्डका खेलाडीलाई स्टेडियमसम्म पुर्याउन होटल अगाडि बस रोकिएको थियो । तर, खेलाडी बसमा सवार हुनुअघि नै त्यो बसमा भयानक विस्फोट भएको थियो ।