कान्तिपुर सहकारीका पूर्वअध्यक्ष सीबी लामा पक्राउ

कान्तिपुर सहकारीका पूर्वअध्यक्ष सीबी लामा पक्राउ

काठमाडौं । कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ संस्थाका तत्कालीन अध्यक्ष सीबी लामा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । 

उनलाई भारतीय सीमा छेउबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका लामालाई काठमाडौं ल्याउँदै गरिएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिए । उनी अहिले पशुपति सेभिङ एन्ड क्रेडिटका अध्यक्ष समेत हुन । उनले कान्तिपुर सहकारीको ६ अर्ब र पशुपतिको २ अर्ब गरी ८ अर्ब रकम अपचलन गरेको आरोप लागेको छ ।

कान्तिपुर सहकारीका तत्कालीन अध्यक्ष लामा तथा सञ्चालकहरूले बचतकर्ता र सेयर सदस्यको साढे ६ अर्ब दुरुपयोग गरी व्यक्तिगत नाममा घरजग्गा, निजी कम्पनी र रिसोर्टमा लगानी गरेका थिए । काठमाडौंको पुरानो र धेरै बचतकर्ता भएकोमध्ये एक कान्तिपुर सहकारीले शाखा तथा सेवा केन्द्र गरी १८ ठाउँमा सेवा विस्तार गरेको थियो । कुनै समय करिब १४ हजार बचत खाता खोलिएको सहकारीमा अहिले पनि करिब ७ हजार बचतकर्ताको ६ अर्ब १३ करोड बचत छ भने सहकारीको सेयर पूँजी करिब ४० करोड छ ।

सहकारीले ६ अर्ब २२ करोड ऋण लगानी गरेको विवरण सहकारी विभागमा बुझाएको छ । यो ऋणको ठूलो हिस्सा सहकारीका तत्कालीन अध्यक्ष सीबी लामा, वर्तमान अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरी, प्रबन्ध सञ्चालक प्रेमध्वज तामाङ, सञ्चालकहरू जोगलाल लामा, सानुकान्छा लामा, नारायणप्रसाद रिमाल, ईन्दु थापा र देवराज पराजुली लगायतले मनोमानी ढंगले घरजग्गा, क्रसर उद्योग, निजी अस्पतालदेखि कलेजमा खन्याएको पाइएको हो ।

छुटाउनुभयो कि ?