धनगढीमा २९ वर्ष यताकै धेरै गर्मी, काठमाडौंमा तापक्रम ३३ डिग्री नाघ्‍यो

धनगढीमा २९ वर्ष यताकै धेरै गर्मी, काठमाडौंमा तापक्रम ३३ डिग्री नाघ्‍यो

काठमाडौं। कैलालीको धनगढी उपमहानगरको तापक्रम ४४.१ डिग्री सेल्सियस पुगेको छ। जल तथा मौसमविज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार आज ४४.१ डिग्री सेल्सियस मापन गरिएको छ। आज मापत गरेको तापक्रमले हिजो मापन गरिएको रेकर्ड ब्रेक गरेको हो।

दिउँसो मापन गरिएको रेकर्डअनुसार हिजो बुधबार ४३.३६ डिग्री सेल्सियसको रेकर्ड थियो। आज ४४ डिग्री नाघेको कार्यालयका मौसमविज्ञान सहायक सिंगल चौधरीले बताउनुभयो । मंगलबार ४२ डिग्री सेल्सियस मापन भएको तापक्रम, बुधबार ४३.३६ डिग्री र आज ४४ दशमलव १ डिग्री मापन भएको छ।

मौसमविज्ञान विभागको फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरीले १९९५ पछि आज बढी तापक्रम मापन भएको जानकारी दिए। उनले सन १९९५ जूनमा धनगढीको तापक्रम ४६ दशमलव ४ मापन भएको थियो। बुधबार २९ वर्षपछि उच्च तापक्रम मापन भएको हो ।

यसैगरी काठमाडौँ उपत्यकाको आजको तापक्रम पुनः बढेर ३३ डिग्री सेल्सियस पुगेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। विगत केही दिनयतादेखि यहाँको तापक्रम बढ्दै गइरहेको उनले बताइन्।

मौसमविद् मानन्धरले भनिन्, “नेपालमा अहिलेसम्म मनसुन भित्रिएको छैन, भारतमा आज मात्रै भित्रिएको छ। मनसुन नेपाल आइपुग्न अझै एक हप्ता लाग्ने भएकाले तापक्रम अझै बढ्नसक्छ।”

आज यहाँको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसबीच रहने विभागले पूर्वानुमान गरेको थियो। अहिले दिपायलमा ३६ दशमलव ६ डिग्री, धनगढीमा ४१ डिग्री, साडेपानीमा ४२ दशमलव ५, नेपालगञ्जमा ४१ दशमलव २ र भैरहवामा ३८ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ।