आज बजेट सार्वजनिक हुँदै, लोकप्रिय कार्यक्रम ल्याउने दबाबमा अर्थमन्त्री

आज बजेट सार्वजनिक हुँदै, लोकप्रिय कार्यक्रम ल्याउने दबाबमा अर्थमन्त्री

काठमाडौं। सोह्रौ पञ्चवर्षीय योजनाको कार्यदिशा र वार्षिक नीति तथा कार्यक्रमको आधारमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट आज सार्वजनिक हुँदैछ। यसका लागि संघीय संसदको संयुक्त बैठक आज १ बजेका लागि बोलाइएको छ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान बजेट पेस गर्ने गरी संघीय संसदको संयुक्त बैठकको कार्यसूची सार्वजनिक गरिएको छ। संयुक्त बैठकमा बजेट पेस भएपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाका छुट्टाछुट्टै बैठकहरु बस्नेछन्।

प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री पुनले राजश्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गर्नेगरी संघीय संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।

यसैगरी सवा ४ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा पनि अर्थमन्त्री पुनले राजश्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गर्ने संघीय संसद सचिवालयले जनाएको छ।

स्रोतका अनुसार यस पटकको बजेटको आकार करिव १९ खर्बको हुने बताइएको छ। गत बर्ष १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट आएको थियो।

बजेटमा केही लोकप्रिय कार्यक्रम ल्याउने दबाबमा अर्थमन्त्री रहेका छन्। सरकारले खासै ठोस कार्यक्रम दिएर जनतालाई आस्वस्त पार्न नसकेको अवस्था लोकप्रिय कार्यक्रम ल्याउने दबाब प्रधानमन्त्री र अर्थमन्त्री दुवैलाई रहेको छ।

स्रोतका अनुसार यस पटकको बजेटमा कर्मचारीको तलब भत्ता तथा सामाजिक सुरक्षा भत्ता नबढ्ने बताइएको छ। यस पटकको बजेटमा सूचना तथा प्रविधि क्षेत्रलाई प्रोत्साहन गरिने, माओवादी पूर्व लडाकुका लागि कार्यक्रम आउन सक्ने बुझिएको छ।