सहकारी पीडितको माइतीघरमा प्रदर्शन

सहकारी पीडितको माइतीघरमा प्रदर्शन

काठमाडौं । सरकारले आफूहरूको मागप्रति गम्भीरता नदेखाएको भन्दै सहकारी बचतकर्ताले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सहकारी बचत अपचलनकर्तालाई कारबाही गर्दै बचतकर्ताको रकम फिर्ता गर्ने सहमति सरकारले गरे पनि कार्यान्वयन नभएको भन्दै बचतकर्ताले शुक्रबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । सरकारले आफूहरूसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्ष कुसलभ केसीले बताए ।

सहकारी बचतकर्ताको माग पूरा नभएसम्म आन्दोलन अब देशैभर सशक्त रूपमा अगाडि बढाउने उनले बताए । उनले आफ्नो बचत फिर्ता नपाउँदाको नागरिकको पीडा सरकारले सुन्नुपर्ने उल्लेख गरे ।