बिहे गरेको एक सातामै श्रीमानविरुद्ध वैवाहिक बलात्कारको मुद्दा

बिहे गरेको एक सातामै श्रीमानविरुद्ध वैवाहिक बलात्कारको मुद्दा

काठमाडौं । काठमाडौंमा एक महिला विवाह भएको एक साता पनि नबित्दै वैवाहिक बलात्कारको उजुरी लिएर प्रहरीकहाँ पुगेकी छिन् ।श्रीमान्‌ले आफूलाई मन लागेको बेला शारीरिक सम्पर्क राख्ने गरेको, नमान्दा कुटपिट गर्ने गरेकोलगायत आरोपसहित ती महिला कमला (परिवर्तित नाम) गत वैशाख १४ गते प्रहरीकहाँ पुगेकी हुन् । उनको वैशाख ७ गते बत्तिसपुतलीस्थित एक रेस्टुरेन्टमा विवाह भएको थियो ।

वैदेशिक रोजगारीका लागि जापानमा विगत १० वर्षदेखि बस्दै आएकी कमलाको यो दोस्रो विवाह हो । पारिवारिक चिनजान रहेका दीपक (परिवर्तित नाम) सँग प्रेम सम्बन्ध रहेपछि दुई महिनाअघि उनी विवाहका लागि नेपाल आएकी थिइन् । कमलाको पहिलो विवाह पनि प्रेम विवाह नै रहेको प्रहरी स्रोत बताउँछ ।

तर, जापानमै रहेका श्रीमान्‌सँग सम्बन्ध बिग्रिएपछि उनी दोस्रो विवाह गर्ने अवस्थामा पुगेकी थिइन् । दीपकको पनि यो दोस्रो विवाह थियो । १३ वर्षअघि विवाह गरेकी श्रीमतीसँग १० वर्षपछि सम्बन्ध विच्छेद भएपछि उनले कमलासँग नजिकिएर दोस्रो विवाह गरेका हुन् ।

नयाँ बानेश्वरमा बस्दै आएका दीपकले वैशाख १३ गते राति यौन सम्पर्क राख्न खोज्दा नमानेपछि विवाहमा दिएको सबै सुनका गरगहना खोसेको जाहेरवालाको दाबी छ । यता दीपकले त्यस दिन आफ्ना बुबासँग कमलाले ‘तपाईँको छोराको अन्य केटीहरूसँग सम्बन्ध रहेछ’ भनेको र त्यो कुरा आफूले थाहा पाएपछि दुईजनाबीच सामान्य विवाद भएको प्रहरीसँगको बयानमा उल्लेख गरेका छन् ।

आफूले सम्झाउन कोठामा लैजाँदा कमला लड्न पुगेको पनि उनको दाबी छ । कोठामा पुगेपछि स्थिति सामान्य भएको र बिहान कमलालाई उनको दिदीले बालकोटस्थित घर कुर्न बोलाएकाले आफूले पुर्‍याइदिएको पनि बयानमा बताएका छन् । यता जाहेरवालाकी दिदीले विवाहको दुई दिनमै श्रीमानले दाइजो र विवाह भोजको रकम मागेको भनेर आफूलाई कमलाले फोनमा भनेको बताएकी छिन् ।

दीपकविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ । उनलाई ५ वर्ष कैद सजाय गर्न माग गरिएको छ ।