संखुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडा मरे

संखुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडा मरे

संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका–५, फाकुवामा चट्याङ लागेर ७२ भेडा मरेका छन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले गएको शनिबार रातका समयमा परेको चट्याङ लागेर एकैगोठका ७२ भेडा मरेको जानकारी दिए ।

सभापोखरी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी चापागाईंले सभापोखरी–५ का  सोमबहादुर लिम्बूका ४०० भेडामध्ये ७२ वटा मरेको जानकारी दिइन् । रातको समयमा हुरीसँगै असिना परेपछि रुखको फेदमा बसेका ती भेडा एकैठाउँ मरेको भेटिएको उपाध्यक्ष चापागाईंले बताइन् ।

सभापोखरी गाउँपालिकाको माथिल्लो भेग नेपालको ताप्लेजुङ र चीनसँग जोडिएको छ । घटनास्थल सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबिसे बजारदेखि एक दिनको पैदल दूरीमा पर्छ ।

सभापोखरी गाउँपालिकाको माथिल्लो भेगमा एकल र संयुक्त ६० भन्दा बढी भेडीगोठ छन् । क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।