प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै, यस्तो छ पक्ष र विपक्षको अंकगणित

प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै, यस्तो छ पक्ष र विपक्षको अंकगणित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् । विश्वासको मत प्रयोजनका लागि बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।

सरकारमा सहभागी दल जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । जसपा नेपाल वैशाख ३१ गते सरकारबाट बाहिरिएको थियो भने सोही दिन सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो ।

संवैधानिक व्यवस्थाअनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले ३० दिन भित्र विश्वासको मत लिनु पर्नेछ ।

२०७९ साल पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले चौथो पटक विश्वासको मत लिन लागेका हुन् । यसअघि प्रधानमन्त्री दाहालले २०७९ पुस २६ गते र चैत ६ गते तथा २०८० साल फागुन ३० गते विश्वासको मत लिएका थिए ।

प्रधानमन्त्रीलाई विश्वासको मतका लागि प्रतिनिधिसभाको कूल संख्याको १३८ मत आवश्यकता पर्दछ । माओवादीले दाबी गरे बमोजिम विश्वासको मत पाएमा प्रधानमन्त्रीको पक्षमा एमालेको ७७, माओवादीको ३२, रास्वपाको २१, एकीकृत समाजवादीको १०, जसपाको ७, जनमत पार्टीको ६, नाउपाको ४ र आम जनता पार्टीको एक गरी कुल १५८ मत रहनेछ । जसपाले मत नदिएको अवस्थामा समेत प्रधानमन्त्रीले १५१ मत पाउने देखिन्छ । 

तीमध्ये नाउपाभित्रको विवादका कारण तटस्थ रहेमा पनि प्रधानमन्त्रीको पक्षमा स्पष्ट बहुमत पुग्ने देखिन्छ । जसपा, जनमत पार्टी र नाउपाले मत नदिएको खण्डमा पनि प्रधानमन्त्रीमाथि सङ्कट हुने छैन । त्यो अवस्थामा एमालेको ७७, माओवादीको ३२, रास्वपाको २१ र एकीकृत समाजवादीको १० र प्रभु साहको एक गरी १४१ मत हुनेछ ।

यता कांग्रेस नेतृत्वको विपक्षी मोर्चामा ११३ जना सांसद छन् । जसमा कांग्रेस ८८, राप्रपा १४, जसपा नेपाल ५, लोसपा ४, नेमकिपा र राष्ट्रिय जनमोर्चाको एक÷एक सांसद छन् ।