सुधार केन्द्रमा युवकको हत्या,  १७ जना पक्राउ

सुधार केन्द्रमा युवकको हत्या,  १७ जना पक्राउ

काठमाडौँ । कैलालीको घोडाघोडी नगरपालिका–४ स्थित नयाँ बाटो पुनर्स्थापना केन्द्रमा सुनिल शाहीको हत्या गरेको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ । २५ वर्षीय शाहीको हत्या आरोपमा पुनर्स्थापना केन्द्रका सञ्चालक बलराम खत्री र रोशन ऐरसहित १७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी (डीएसपी) कवीन्द्र बोहराले बताए ।

वैशाख २५ मा दिउँसो सुधार केन्द्रका सञ्चालक र आश्रितहरूले कुटेर शाहीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । मृतकको शरीर भरि निलडाम देखिएको छ ।

पक्राउ पर्नेमा बलराम खत्री, होम तामाङ, रोशन ऐर, विपुल सापकोटा, विनोद शाही, सुदर्शन अधिकारी, भूपेन्द्र खड्का, आकाश अधिकारी, नविन रावल, नमराज चौधरी, सञ्जिव मन्ने, सुमन भट्ट, गौरव आचार्य, कमल रिजाल र दुई जना नाबालक छन् ।

उनीहरु विरुद्ध ज्यानसम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको डीएसपी बोहराले जानकारी दिए । आरोपीहरूबारे इलाका प्रहरी कार्यालय सुख्खडले अनुसन्धान गरिरहेको छ । लागु औषधको लत छुटाउन परिवारले शाहीलाई नयाँ बाटो पुनर्स्थापना केन्द्रमा केन्द्रमा राखेका थिए ।