पूर्वराष्ट्रपति भण्डारीले गरिन् मदन भण्डारीको शालिकमा माल्यार्पण

पूर्वराष्ट्रपति भण्डारीले गरिन् मदन भण्डारीको शालिकमा माल्यार्पण

काठमाडौँ ।  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले स्व। मदन भण्डारीको शालिकमा माल्यार्पणसहित श्रद्धाञ्जली अर्पण गरेकी छिन्।

३१ औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा बल्खुस्थित मदननगर पुगी उनले श्रद्धाञ्जली अर्पण गरेकी हुन्। स्मृति सभामा पूर्वराष्ट्रपति भण्डारीसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङलगायत नेता उपस्थित थिए। 

नेता–कार्यकर्ताले पनि मदन भण्डारीको शालिकमा माल्यार्पण गरे। नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा निधन भएको थियो। 

यही दिनको स्मरणमा नेकपा (एमाले) ले हरेक वर्ष जेठ ३ गते विविध कार्यक्रम गर्दै आएको छ। मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’ को सिद्धान्त नेपालको कम्युनिष्ट आन्दोलनमा पृथक मानिन्छ।