नगर प्रहरीलाई कुटपिट गरेर फरार युवक ६ दिनपछि पक्राउ

नगर प्रहरीलाई कुटपिट गरेर फरार युवक ६ दिनपछि पक्राउ

काभ्रेमा नगर प्रहरीलाई कुटपिट गरेर भागेका युवक ६ दिनपछि पक्राउ परेका छन्। बनेपा नगरपालिका–७ स्थित चारदोबाटो चोक नजिक अरनिको राजमार्गमा गएको वैशाख २५ गते नगर प्रहरीमाथि कुटपिट भएको थियो। 

कुटपिटमा संलग्न तीन महिला र एक पुरुषलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले त्यतिबेलै पक्राउ गरेको थियो। कुटपिट गरेर फरार रहेका पाँचखाल-८ का २३ वर्षीय सुरज काफ्लेलाई घटनाको ६ दिनपछि पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको हो। 

उनलाई अदालतबाट म्याद थप गरेर कारबाही प्रक्रिया अघि बढाइएको काभ्रेका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए। त्यतिबेला नगर प्रहरीमाथि कुटपिट र झैझगडा भएको भिडियो सामाजिक सञ्जालमा समेत भाइरल भएपछि प्रहरीले अनुसन्धान गरेको छ।

बनेपा नगरपालिकाको उजुरीका आधारमा घटनामा संलग्नहरुलाई मुलुकी अपराध सहिताको दफा ११८ को कसुरअनुसार पक्राउ गरिएको प्रहरीले जनाएको छ।