नगर प्रहरीलाई कुटपिट गरेर फरार युवक ६ दिनपछि पक्राउ

नगर प्रहरीलाई कुटपिट गरेर फरार युवक ६ दिनपछि पक्राउ

काभ्रेमा नगर प्रहरीलाई कुटपिट गरेर भागेका युवक ६ दिनपछि पक्राउ परेका छन्। बनेपा नगरपालिका–७ स्थित चारदोबाटो चोक नजिक अरनिको राजमार्गमा गएको वैशाख २५ गते नगर प्रहरीमाथि कुटपिट भएको थियो। 

कुटपिटमा संलग्न तीन महिला र एक पुरुषलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले त्यतिबेलै पक्राउ गरेको थियो। कुटपिट गरेर फरार रहेका पाँचखाल-८ का २३ वर्षीय सुरज काफ्लेलाई घटनाको ६ दिनपछि पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको हो। 

उनलाई अदालतबाट म्याद थप गरेर कारबाही प्रक्रिया अघि बढाइएको काभ्रेका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए। त्यतिबेला नगर प्रहरीमाथि कुटपिट र झैझगडा भएको भिडियो सामाजिक सञ्जालमा समेत भाइरल भएपछि प्रहरीले अनुसन्धान गरेको छ।

बनेपा नगरपालिकाको उजुरीका आधारमा घटनामा संलग्नहरुलाई मुलुकी अपराध सहिताको दफा ११८ को कसुरअनुसार पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

छुटाउनुभयो कि ?