काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रीबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर अध्यक्ष यादवले आफ्नो राजीनामा बुझाएका हुन् ।
राजीनामापछि यादवले वर्तमान सत्ता गठबन्धनसँग सहकार्य गर्न नसकिएको बताए । “मैले राजीनामा अरु केही पनि भनेको छैन । वर्तमान सत्ता गठबन्धनसँग सहकार्य गर्न नसकिएन भनेको छु,” राजीनामापछि यादवले भने । उनले पृष्ठभूमिका राजनीतिक कारणहरू भने राजीनामा उल्लेख गरेका छैनन् ।
स्वास्थ्यमन्त्रीको हैसियतमा अमेरिका गएको बेला उपेन्द्रका १२ मध्ये सात सांसदसहित अशोक राईको नेतृत्वमा जसपा विभाजित भएको थियो । अशोक राई नेतृत्वमा नयाँ पार्टी गठन भएपछि उक्त समूहले उपेन्द्रले कांग्रेससँग मिलेर सत्ता गठबन्धन बनाउने प्रयास गरेका कारण स्थायित्वका लागि नयाँ पार्टी गठन गर्नुपरेको बताएका थिए ।
अमेरिकाबाट फर्किएपछि उपेन्द्रले प्रधानमन्त्रीसँगको भेटमा पार्टी विभाजन गर्दा गलत आरोप लगाएको बताएका थिए । यादवको राजीनामासँगै जसपा नेपाल सरकारबाट बाहिरिएको छ । योसँगै सरकारलाई समर्थन गरेका पाँच सांसद घटेको छ ।
साथै यादवले आफ्नो पार्टी फुटाउने क्रममा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले कसरी भूमिका खेले भन्ने प्रमाण आफूसँग रहेको भन्दै छिट्टै सार्वजनिक गर्ने चेतावनी पनि दिएका छन् ।