आफ्नै रेकर्ड तोड्दै २९ औँ पटक सगरमाथाको चुचुरोमा कामीरिता

आफ्नै रेकर्ड तोड्दै २९ औँ पटक सगरमाथाको चुचुरोमा कामीरिता

काठमाडौं । नेपाली पर्वतारोही कामीरिता शेर्पाले २९औं पटक सगरमाथा चुचुरोमा पुगेर आफ्नै रेकर्ड तोडेका छन् । शेर्पाले आइतबार बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको शिखरमा पाइला टेकेको सेभेन समिट ट्रेकले जानकारी दिएको छ ।

यसअघि २८ पटक सगरमाथा चढेर शेर्पाले आफनो नामको विश्व कीर्तिमान आफैँले भंग गरेका थिए । सेभेन समिट ट्रेक्स एभरेष्ट एक्सपिडिसन २०२३ अन्तर्गत उनी जेठ ९ गते २८ औं पटक सगरमाथा पुगेका थिए । कामीरिताले ‘व्यक्तिगत सगरमाथाको सबैभन्दा सफल आरोहण’ को उपाधि जितेका छन् ।

सेभेन समिट ट्रेकमा सिनियर गाईडका रूपमा कार्यरत नेपालको सोलुखुम्बुको थामे गाउँका कामीरिता शेर्पाले आफ्नो जीवन पर्वतारोहणमा समर्पित गरेका छन् र विश्वको सर्वोच्च शिखर सगरमाथाको पर्याय बनेका छन् ।

जनवरी २, १९७० मा जन्मेका उनले दुई दशकभन्दा बढी समयदेखि हिमाल आरोहण गर्दै आएका छन्। उनले पाकिस्तानको केटु चो ओयु, ल्होत्से र मनास्लु लगायतका अन्य चुचुराहरू पनि सफल आरोहण गरेका छन् ।