बिहेइतर सम्बन्ध : मध्यरातमा गोङ्गबुको होटलमा पुगेकी युवतीमाथि कुटपिट, मध्यरातमा मृत्यु

बिहेइतर सम्बन्ध : मध्यरातमा गोङ्गबुको होटलमा पुगेकी युवतीमाथि कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौँ । गोङ्गबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक जोडी युवा–युवती बास बस्न पुगे । नाता सम्बन्धको कागजपत्र नहेरी होटलले उनीहरूलाई तेस्रो तल्लाको ९ नम्बर कोठा उपलब्ध गरायो ।

होटलका स्टाफले दिएको जानकारी अनुसार उनीहरू यसअघि पनि पटक–पटक यसैगरी स्टार जोन होटलमा रात बिताउन आउने गरेका थिए ।

शुक्रबार राति उनीहरुबीच होटलमा अचानक विवाद भयो । त्यही क्रममा युवकबाट कुटपिट भएको कल्पनाको शरीरका विभिन्न ठाउँमा लागेको चोट पटकबाट अनुमान गर्न सकिन्छ । यही क्रममा मध्यरातमा युवतीको ज्यान गयो ।

युवतीको मृत्युको घटना रहस्यमय देखिएको छ । महाराजगन्ज प्रहरी वृत्तमा परेको जाहेरीअनुसार विवाहित युवतीलाई होटलमा बोलाएर कोठामा राख्ने व्यक्ति काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ घर ठेगाना बताउने अनित कार्की हुन् । अन्दाजी ३२ वर्षका कार्कीलाई महाराजगन्ज प्रहरीले हिरासतमा लिएको छ ।

मृतक युवती कल्पना भण्डारी सुवेदी हुन् । मोरङको लेटाङ नगरपालिका वडा नम्बर–२ घर भएकी ३१ वर्षीया कल्पनाका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा थिए । उनी सानी छोरीलाई लिएर काठमाडौँको बाँसबारीमा बस्दै आएकी थिइन् ।

प्रहरीका अनुसार मृतक युवतीको दायाँ घुँडामा डेढ इञ्च लम्बाई र आधा ईञ्च चौडाईको घाउ देखिएको छ । त्यस्तै, बायाँ घुँडामा पनि आधा इञ्चको चोट देखिएको छ ।

युवतीको दायाँ स्तनको भागमा पनि आधा इञ्चको घाउ देखिएको छ । त्योभन्दा एक इञ्च तल केराउको दाना आधारको कालो–रातो दागसमेत देखिएको घटनास्थल मुचुल्कामा उल्लेख छ ।

युवतीको छातीको दायाँ भागमा एक इञ्च कोतरिएको घाउ देखिएको छ । बायाँ हातको पाखुरामा समेत रातो कालो दाग देखिएको छ । निधारको दायाँ भागको आँखीभौँ छेउमा कालो–नीलो डाम देखिएको छ । दायाँपट्टि चिउँडोमा रातो घाउ चोटपटक देखिएको छ । दायाँ हातको नाडीमुनि कोतरिएको घाउ छ ।

पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको मृत युवतीको शरीरमा दाहिने पातोभन्दा माथि पछाडिको भागमा पनि घाउ छ । सर्ट र हाफपाइन्ट लगाएको अवस्थामा भेटिएको थियो ।

राति नै युवतीले आत्महत्या गरेको भन्दै अनित कार्कीले पहिले होटलवालालाई खबर गरे । त्यसपछि प्रहरी तत्कालै घटनास्थलमा पुगेको थियो । युवतीको शरीरमा नीलडाम र घाउचोट देखिए पनि मृत्यु के कारणले भएको हो भन्ने वास्तविक कारणचाहिँ पोष्टमार्टम रिपोर्ट आएपछि खुल्ने प्रहरीको भनाइ छ ।

आफन्तले दिएको जानकारी अनुसार राति नै युवतीले आत्महत्या गरेको भन्दै अनित कार्कीले पहिले होटलवालालाई खबर गरेका थिए । त्यसपछि प्रहरी तत्कालै घटनास्थलमा पुगेको थियो ।

कोठाभित्रै विवाद भएपछि युवती कम्मरमा तन्ना बेरेर बाथरुममा छिरेको र लामो समयसम्म बोलाउँदा पनि नबोलेपछि होटल सञ्चालकलाई फोन गरेर बोलाएको कार्कीले प्रहरीलाई बताएका छन् ।

श्रीमान् वैदेशिक रोजगारीमा गएको अवस्थामा महिलाहरुलाई आफ्नो प्रभावमा पार्ने, यौन शोषण गर्ने र सम्पत्तिमा समेत ठगी गर्ने अपराधका घटना समाजमा बढ्दै गएका छन् ।

होटल सञ्चालक आएपछि बाथरुमको ढोका बलपूर्वक घँचेटी फोडेर हेर्दा घाँटीमा तन्नाको पासो लगाई भुइँमा लडेको अवस्थामा भेटिएको र कपडा झुन्ड्याउने हुकसमेत भुईँमा झरेको पाइएको युवकले प्रहरीलाई प्रारम्भिक बयान दिएका छन् ।

होटलवाला र युवकले प्रहरीलाई फोन गरेको र तत्काल प्रहरीसमेतले त्रिवि शिक्षण अस्पतालमा पुर्‍याउँदा डाक्टरले राति ११ः३५ बजे कल्पनालाई मृत घोषित गरेको युवक र होटलवालाको भनाइ उद्धृत गर्दै आफन्त बताउँछन् ।