पानी पार्ने प्रणाली नेपाल भित्रिँदै, कहाँ कहाँ हुनेछ वर्षा ?

पानी पार्ने प्रणाली नेपाल भित्रिँदै, कहाँ कहाँ हुनेछ वर्षा ?

काठमाडौँ । यो वर्षको हिउँदमा सुख्खा याम लम्बिँदा देशका विभिन्न भागमा डढेलो र आगलागीका घटनाहरू बढिरहेको छ । विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण प्राधिकरणका अनुसार ३ दिनको अवधिमा देशका ७२१ भन्दा धेरै ठाउँका जङ्गलमा डढेलो लागेको छ । आगलागीबाट वनजंगलको छेउछाउमा रहेका घर गोठ,  पशुचौपायका साथै मानवीय जोखिम र क्षतिका घटनाहरू बढिरहेका छन् । 

धुमिल वायुमण्डल र अत्यधिक गर्मी बढिरहेका बेला शुक्रवारदेखि भने तापक्रममा केही गिरावट आएको जल तथा मौसम विभागको मौसम पूर्वानुमान शाखाका मौसमविद् गोविन्द झा बताउँछन्  । 

उनले भने–‘अघिल्लो साता बुधबार, बिहीबारसम्म जुन गर्मी थियो, त्यो अलि कम भएको छ । तापक्रममा केही गिरावट आएको छ । नेपालमा पश्चिमबाट पानी पार्ने प्रणाली प्रवेश गरिरहेको छ । पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुका कारण अहिले अकासमा बादल बन्ने प्रक्रिया बढिरहेको छ  ।’

उनले दुई तीन दिन भित्र देशका पहाडी भूभागहरूमा अलिअलि छिटपुट वर्षा हुन सुरु हुने उल्लेख गरे । विशेषगरी कोसी, बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिमसम्म हल्का वर्षाको सम्भावना रहेको उनको भनाई छ । 

मौसमविद् झाले भने–‘अलि अलि पानी आइतबारदेखि नै पर्न सक्ने देखिएको छ । सोमबार, मंगलबारसम्म देशका अधिकांश भूभागमा पानी पर्न सक्छ । अहिले अलि बढी सुदूर पश्चिम क्षेत्रमा सम्भावना देखिएको छ । सो प्रणाली पूर्वतिर सर्र्दै आउने अवस्था रहेको छ, क्षणिक हल्का वर्षा चाहिँ हुन्छ ।’

अघिल्लो साता सोमबार, मंगलबारसम्म १५ वटा सहरमा ४० डिग्री सेल्सियस तापक्रम मापन गरिएकोमा शुक्रबारसम्मको आँकडामा कुनैपनि ठाउँमा ४० डिग्री तापक्रम कटेको अवस्था नरहेको झाले बताए । केही दिन तापक्रम बढ्ने अवस्था नरहेको उनको भनाई छ । 

आज (आइतबार) पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली हुनेछ । केही भागमा भने मौसम सफा रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जनर चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

सोमबारपनि देशको पहाडी भागमा आंशिक बदलीको अवस्था रहने, कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।