मध्यरातमा  सन्दीप लामिछानेको पोस्टः ममाथि षड्यन्त्र गर्ने सबैको नाम छिट्टै सार्वजनिक गर्नेछु

मध्यरातमा  सन्दीप लामिछानेको पोस्टः ममाथि षड्यन्त्र गर्ने सबैको नाम छिट्टै सार्वजनिक गर्नेछु

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले बुधबार ट्वान्टी–२० विश्वकपका निम्ति नेपाली क्रिकेट टिमको घोषणा भएपछि सामाजिक सञ्जालमा दुईवटा पोस्ट गरेका छन् । 

आफूमाथि लागेको बलात्कार मुद्दाविरुद्ध उच्च अदालतमा पुनरावेदन दिएका सन्दीप विश्वकपका निम्ति घोषित टिममा अटाएनन् । टिमको घोषणालगत्तै सन्दीपले सामाजिक सञ्जालमा आफू षड्यन्त्रको शिकार भएको कुरामा कुनै शंका नभएको लेखे । 

“मैले लामो पोस्ट गर्नबाट आफूलाई टाढा राखेँ । म षड्यन्त्रको शिकार भएकोमा मलाई कुनै शंका छैन । यस षड्यन्त्रमा भूमिका खेल्ने सबैलाई भगवानले आशिष दिउन् । म सबै कुरा भगवानमा छोड्छु । सत्यतथ्य बाहिर नआएसम्म समयले बताउनेछ ।”

यो पोस्ट गरेको केही घण्टापछि सन्दीपले अर्को पोस्ट गर्दै आफूमाथि भएको षड्यन्त्रमा संलग्न व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने बताए । “म सम्बन्धित अदालतको कानुन र आदेशको सम्मान गर्दछु । तर म यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने प्रत्येक व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने सबैलाई प्रतिज्ञा गर्दछु, जो यस मुद्दामा संलग्न छन् ।” 

२०७९ भदौमा बलात्कारको उजुरी परेपछि सन्दीपलाई गत वर्ष पुसमा जिल्ला अदालत काठमाडौंले आठ वर्ष कैद, तीन लाख जरिबाना र दुई लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो । जिल्ला अदालतको यो निर्णयविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन दिएका छन् ।